बिदेशमा भएका प्रेमीलाई बोलाइन्, अनि श्रीमान्‌सँग मिलेर हत्या गरिन

काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमूनि फेला परेको शव ३३ वर्षीय सहिद अन्सारीको भएको पुष्टि भएको छ।

अनुसन्धानमा अन्सारीलाई उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान्‌ राजकिशोर यादवले मिलेर हत्या गरेको खुलेको हो।

वैदेशिक रोजगारीको लागि कतारमा रहेका अन्सारी र अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। अनिताले अन्सारीलाई श्रीमती बिरामी रहेको झुटो खबर पठाएर नेपाल बोलाएको पनि प्रहरी अनुसन्धानमा खुलेको प्रहरी अधिकृत बताउँछन्।

२०८१ मंसिर २७ गते अनिता र उनका श्रीमान्ले अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए। हत्यापछि शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो। शव पहिचान गर्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो। माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो।

अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ भने उनका श्रीमान् राजकिशोर यादव हत्यापछि साउदी अरब  पुगेको तिवारीले बताए। उनलाई नेपाल फर्काउन कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation