
रमा पन्थी, रुपन्देही । वैशाख १८ — सिद्धार्थनगर नगरपालिकाको आयोजनामा “सामी” परियोजना अन्तर्गत वैदेशिक रोजगारी सम्बन्धी जनचेतनामूलक तालीम वडा नं. ९ मा सम्पन्न भएको छ। वडाध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा जनप्रतिनिधि, वडा सचिव, पत्रकार तथा स्वयंसेविकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्तिहरूलाई आवश्यक सावधानी, प्रक्रियागत जानकारी र कानुनी पक्षबारे सचेत गराउनु रहेको थियो। साथै, विदेशमा उत्पन्न हुन सक्ने समस्याहरूको समाधान कसरी गर्ने र सरकारी तथा अन्य आवश्यक सेवा कसरी प्राप्त गर्न सकिन्छ भन्नेबारे समेत सहभागीहरूलाई विस्तृत जानकारी दिइयो।
तालीमका क्रममा सहभागीहरूले पैसा कसरी र कसलाई दिने, दोहोरो सम्झौता गर्ने तरिका, भिसा र पासपोर्टको प्रमाणीकरण, श्रम स्वीकृति नवीकरण प्रक्रिया, र सीप सिकेर जानु पर्ने महत्त्वबारे जानकारी पाए।
स्वयंसेविकाहरूले घर–घरमा गई वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई आवश्यक जानकारी र सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा मनोसामाजिक परामर्शदाता मञ्जु कार्कीले विदेशमा काम गर्दा देखिन सक्ने मानसिक चुनौतीहरू, तालिम र सीपको आवश्यकता, र विदेशबाट प्राप्त हुने आर्थिक लाभबारे प्रकाश पारिन्। उनले वैदेशिक रोजगारीका क्रममा अङ्ग भङ्ग भएमा र ज्यान गुमेका खण्डमा सरकारबाट उपलब्ध हुने बीमा सुविधाबारे समेत जानकारी दिँदै सावधानी अपनाउन बिचौलियाबाट टाढा रहन सुझाव दिइन्।
त्यस्तै, भवानी अर्यालले वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सीप सिक्नुपर्नेमा जोड दिँदै पुरुषका लागि स्काफोल्डर, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन लगायतका तालिम तथा महिलाका लागि गार्मेन्ट मेसिन अपरेटर, हाउसकीपर/क्लिनर तालिमहरु दिएको र यसको आबस्यकता र उपलब्धताबारे जानकारी दिइन्। हाल यस्ता तालिम काठमाडौँ, झापा र धनुषा जिल्लामा सञ्चालनमा छन्, तर देशभरका इच्छुक नागरिकहरूले सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ।
कार्यक्रममा सहभागीहरूलाई विदेश जानुअघि आवश्यक सम्पूर्ण कागजातहरू चेक गर्ने र परिवारलाई जानकारी गराई एक प्रति घरमै राख्न सुझाव दिइयो, जसले आकस्मिक समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको छ। साथै, नगरपालिकाको ११ नं. कोठा ,जिल्ला प्रसासन कार्यलय को ११ नम्बर कोठामा सम्पर्क गर्न सकिन्छ र श्रम नवीकरण सम्बन्धी सेवा उपलब्ध गराइने जानकारी पनि दिइयो।
सिद्धार्थनगर नगरपालिकाले यस्ता जनचेतनामूलक कार्यक्रमहरू नगरका अन्य वडाहरू र टोल सुधार समितिमार्फत पनि सञ्चालन गर्दै आएको छ। साथै, पाँच विद्यालयमा आधारित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
वैदेशिक रोजगारीमा जानुअघि सचेतना, सीप र तयारी अनिवार्य रहेको सन्देश दिँदै कार्यक्रम समापन गरिएको थियो। यस्तो तालीमले नेपाली श्रमिकलाई सुरक्षित, सशक्त र व्यवस्थित वैदेशिक रोजगारीतर्फ अग्रसर गराउने विश्वास लिइएको छ।