चलचित्र दिलसरा हेरेपछि भैरहवाका दर्शकको सुखद प्रतिक्रिया

 

भैरहवा। मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ ले दर्शकको मन जितेको छ । दर्शकको अपार उपस्थिति भएपछि एक सो मात्र देखाउने भनिएको चलचित्र खूँसा मगर संघको आव्हानमा भैरहवा स्थित काशी सिने प्लेक्समा आइतबार देखाइएको चलचित्रकी निर्माता एवं कथाकार जुना थापाले जानकारी दिइन् । ‘दर्शकको यति धेरै मायाँ पायौं, एक सो मात्र देखाउने भनेको चलचित्र दुई सो देखाउन बाध्य भयौं ’ उनले भनिन् । मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्ष उजागर गरिएको चलचित्र हेर्न फिल्महलमा दर्शकको ओईरो लागेको थियो । करीब ९९ जना अट्ने हलमा दर्शक खचाखच थिए।

चलचित्र हेर्न मगर समुदायका अनुहार बाक्लो मात्रामा थियो भने अन्य समुदायकापनि प्रशस्त थिए । मगर भेषभुषामा सजिएर आएका दर्शकको उल्लेख्य उपस्थितिले चलचित्रकर्मी खुशी देखिन्थे । मगर समुदायमा आधारित चलचित्र ‘दिलसरा’ नारी प्रधान चलचित्र हो । यसमा चलचित्रकी मुख्य पात्र तथा नायिका दिलसराले गरेको संघर्षलाई देखाइएको छ । विपन्न परिवारमा त्यो पनि जँड्याहा बुबाले छोरी भनेको अर्काको घर जाने जात हो भन्दै गरेको विभेदबिरुद्ध दिलसराले मौन भाषामा गरेको विद्रोहलाई यथार्थपरक ढंगले देखाइएको छ ।

मगर समुदायमा हुने लाहुरे संस्कार र उसको माया पिरतीमा आईपर्ने पारिवारिक र सामाजिक अड्चन तथा मगर समुदायमा हाबी रहेको मामाको छोराले फूपूको छोरीलाई हक जताउने संस्कृति र त्यसले पार्ने पारिवारिक विखण्डनलाई चलचित्रमा प्रस्तुत गरिएको छ । मायामा परिवार बाधक बनेपछि घर छाडेर हिंडेकी दिलसराले सहर झरेर गरेको संघर्ष र पछि आफ्नै बलबुताले ग्रामिण विकास अधिकृत भएर गाउँमा फर्किदा पाएको माया र सम्मानले दिलसराको सफलता देखाइएको छ । अन्त्यमा चोखो मायाको जित हुन्छ भनेझैं फूपूकी छोरीले दिलसराको माया देखेर घर छाडेर हिंड्छिन् र त्यसपछि दिलसरा र लाहुरेको पुनः मिलन गराएर चलचित्र सकिन्छ ।

चलचित्र हेरे दर्शकले राम्रो प्रतिक्रिया दिएसंगै चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिए । ‘स्थानीय कलाकारको अभिनय पनि राष्ट्रिय कलाकारको भन्दा कम नरहेको उनको प्रतिक्रिया छ । मगर संस्कृतिमा आधारित चलचित्र यत्तिको उत्कृष्ट बन्नु ठूलो कुरा हो’ उनले भने ।

चलचित्र हेरेर फर्केका दर्शकहरुले महिलालाई चुलोचौकोमा मात्र सिमित गर्नुपर्छ भन्नेहरुलाई गतिलो झापड दिएको र महिलाले जस्तोसुकै परिस्थितिमापनि संघर्ष गरेर सफलता हात पार्न सक्ने भन्दै युवा पुस्तालाईपनि विदेश जाने होईन, स्वदेशमै सरकारी जागिर खाएरपनि बस्न सकिन्छ भन्ने सन्देश दिन चलचित्र सफल भएको प्रतिक्रिया दिएका छन ।’

‘मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । अशोक आले मगरले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा छन् । चलचित्रको कथा जुना थापा मगर, पटकथा मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा कल्याण रानाम मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation