नागरिक उन्मुक्ति पार्टी सरकार छाड्न बाध्य हुने लालवीर चौधरीको चेतावनी

नागरिक उन्मुक्ति पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य लालवीर चौधरीले रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको धारण माग गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने उनले बताए । प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ नदिएमा आफूहरु सरकार छाड्न बाध्य हुने उनले चेतावनी दिए ।

‘पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्याइयो । महिमानसिंह विष्टले जुन पक्राउ गर्ने पुर्जी काट्नु भएको छ, सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ । यतिबेलासम्म पनि सरकारले कहीँ कतै नबोलेको हुनाले म यसै गरिमामय सदनलाई प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिनु भएन भनेदेखि हामी सरकार छोड्न बाध्य हुन्छौं,’– उनले भने ।

गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम थियो । तर, गलत पत्रको आधारमा रेशमलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको थियो । सर्वोच्चले रेशमलाई थुनामा पठाउने पत्र फर्जी रहेको भनी अर्को पत्र काटेसँगै साढे ५ घण्टा कारागार बसेर उनी छुटेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation