
प्यूठान, स्वर्गद्वारी – ‘प्रति गमन विरुद्ध संघर्ष गरौं, गणतन्त्रको रक्षा गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले स्वर्गद्वारी नगरपालिका–४ भिंगरीको जेमुरेपाटामा पालिका स्तरीय जनचेतना सभा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले गणतन्त्रमाथि विभिन्न शक्तिहरूबाट प्रतिगमनको खतरा बढ्दै गएको भन्दै त्यसविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्ने बताइन्। उनले जनताको अधिकार सुरक्षित गर्न संविधानको रक्षा र कार्यान्वयनमा सधैं सतर्क रहनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा विशेष अतिथिका रूपमा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार सुरेश थापा, केन्द्रीय सदस्य कृष्ण खड्का, प्यूठान जिल्ला अध्यक्ष ज्ञामु राम न्यौपाने, उपाध्यक्ष इमान सिंह खड्का तथा स्वर्गद्वारी नगरपालिकाका उप–प्रमुख मिनराज राना मगरको उपस्थिति रहेको थियो।
त्यस्तै, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल, अखिल छैठौंका केन्द्रीय सदस्य लक्ष्मण पुन, अखिल नेपाल किसान संघअफ़्फ़ा प्यूठानका उपाध्यक्ष यम प्रसाद गोरा थोकी र समता समाज नगर अध्यक्ष जितेन्द्र विकले पनि कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक न्याय, समानता र जनताको अधिकार सुनिश्चित गर्न राष्ट्रिय जनमोर्चाको भूमिका सशक्त बनाउनु पर्ने धारणा राखेका थिए।
कार्यक्रमको अध्यक्षता गिर बहादुर गुरूङले गरेका थिए। स्वागत मन्तव्य द्रोण रावलले राखेका थिए भने कार्यक्रमको सञ्चालन गंगाराम बीसीले गरेका थिए।
सभा सफल रूपमा सम्पन्न गर्दै सहभागिहरूले जनचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रम गाउँ–गाउँमा निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।