माओवादी द्धन्द्धकालमा मारिएका पत्रकार थापाको घरमा प्रचण्ड , ठुलो गल्ती भयको स्वीकार

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैलेख पुगेर द्धन्द्धकालमा हत्या गरिएका पत्रकार डेकेन्द्र थापाको घरमा पुगेका छन् । ‘मध्यपहाडी राजमार्ग अभियान’ अन्तर्गत दैलेख पुगेका दाहालले सोमबार सदरमुकाममा आयोजित आमसभापछि थापाको परिवारसँग भेट गरेका हुन्।

सोमबार बिहान काँडाचौरदेखि गढीसम्म मर्निङ वाक गरेका दाहालले स्वर्गीय थापाको सालिकमा माल्यार्पण गरेपछि द्वारीस्थित घरमा पुगेर परिवारजनसँग कुराकानी गरेका थिए। उनले भेटका क्रममा माओवादीबाट भएका गल्तीप्रति आत्मालोचना गर्दै भने, “हामीबाट गल्ती भएको हो, त्यसका लागि आत्मालोचना पनि गरेका छौं। हामीले गल्ती स्वीकार्दै आएको छौं।”

पत्रकार थापाको २०६१ साल साउन २७ गते नौमुले गाउँपालिका-३ मा माओवादी कार्यकर्ताहरूले अपहरणपछिको यातनाबाट हत्या गरेका थिए। माओवादी पक्षले उक्त घटनालाई द्धन्द्धकालको ‘राजनीतिक घटना’ भन्दै कानुनी जिम्मेवारीबाट पन्छिँदै आएको थियो।

दाहालको यो कदमलाई केहीले सकारात्मक परिवर्तनको संकेत भनेका छन् भने केहीले ढिलो आएको ‘प्रायश्चित’ को संज्ञा दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation