
बुटवल । कपिलवस्तुको बाणगंगा नदीमा अवैध उत्खननको भएको भन्दै यसलाई तत्काल रोक्न माग गर्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई ज्ञापनपत्र बुझाएको छ ।
बाणगंगा नदीमा भएको अवैध उत्खनन र अन्धधुन्ध दोहनका कारण श्रृङ्घाट, प्रगतिचारमौजा सिँचाई आयोजना, लक्ष्मणघाट पुल, बाणगंगा सिँचाई आयोजना जस्ता प्रमुख संरचना जोखिममा परेको जनमोर्चाले जनाएको छ ।
त्यस्तै, सिँचाइका संरचनाहरू भत्किने अवस्थामा पुग्ने र स्थानीय कृषि प्रणालीलाई तहसनहस पारिरहेको ज्ञापनपत्र उल्लेख गरिएको छ।यस प्रकारको गैरकानुनी कार्य तत्काल बन्द गराउन र दोषीमाथि कडा कारबाही गर्न माग गर्दै आएको जिल्लाका अध्यक्ष राम प्रसाद बेल्वासेको हस्तलिखित ज्ञापन पत्रमा अगाडी भनिएको छ ।
हाल बाणगंगामा नदीजन्य पदार्थहरू चोरी, दोहन हुँदै गर्दा राज्यले तोकेको मापदण्ड खुलमखुल्ला उल्लङ्घन भइरहेको छ ।नगरपालिकाले तोकेको सीमाभन्दा गुणा बढी ढुङ्गा, बालुवा लगायतका स्रोत निकासी भइरहेको र नाप जाँचविना क्रसर उद्योगमा सामग्री ढुवानी भइरहेको अवस्थामा पनि स्थानीय सरकार, जिल्ला समन्वय समिति र सुरक्षा निकाय मौन जनाएको छ ।