राष्ट्रिय जनमोर्चाद्वारा अग्निपीडितहरूलाई राहत वितरण

कपिलवस्तु, तौलिहवा
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–११, सदवा गाउँमा वैशाख ३० गते भएको भीषण आगलागीबाट पीडित परिवारहरूलाई राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति द्वारा आज राहत वितरण गरिएको छ।
राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केर सिंह अदैको नेतृत्वमा गएको टोलीले पीडितहरूलाई चामल, दाल, आलु, प्याज, तरकारी, बिस्कुट लगायतका राहत सामग्री वितरण गरेको हो।
उक्त आगलागीमा ६ वटा घर पूर्ण रूपमा जलेका थिए भने ५ वटा गोठमा पनि क्षति पुगेको थियो। पूर्ण रूपमा जलेका घरहरू बाकेलाल कोरी, दिनेश कोरी, रामवली कोरी, सञ्जय कोरी, शिवचरण कोरी र पुनवंशी कोरीका हुन्। आगलागीमा दिनेश कोरीको करिब १ लाख ५० हजार रुपैयाँ नगद जलेको, केही मात्रामा अंशतः बचेको जनाइएको छ।
स्थानीय स्रोतका अनुसार चाउचाउ पकाउने क्रममा आगलागी सुरु भएको हो। पीडित दलित परिवारहरू सरकारी कित्तामा नाम नचढेको ऐलानी जग्गामा बसोबास गर्दै आएका थिए। उनीहरूले टिनको छानो र बारेर बनाएको घरमा जीवन यापन गरिरहेका थिए।
राहत वितरण कार्यक्रममा जातीय समता समाजका जिल्ला अध्यक्ष दिलबहादुर विक, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य रामबहादुर चमार, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्द बहादुर केसी तथा राजमो शिवराज नगर समितिका सदस्य प्रकाश विकको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation