
रूपन्देही, २०८२ — नेकपा वामपन्थी केन्द्र पार्टीले देशको राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानमाथि भइरहेको विविध खतराको विरुद्धमा आवाज उठाउँदै १९ बुँदे मागपत्र पेश गरेको छ। पार्टीले कार्यकारी राष्ट्रपतीय प्रणाली स्थापनाको माग गर्दै संविधान संशोधनको पनि माग गरेको छ।
पार्टीको निर्णयअनुसार केन्द्रीय संयोजक राजकुमार कक्षपति, अध्यक्ष मुकुन्दराज रोका, महासचिव अर्जुन अधिकारी, नेतृ लक्ष्मी गिरी लगायतको प्रतिनिधिमण्डलले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा हालको संवैधानिक र राजनीतिक अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय हित र जनताको अधिकार सुनिश्चित गर्न तत्कालीन कदम चाल्न सरकारलाई आग्रह गरिएको छ। पार्टीले विभिन्न जनपक्षीय मुद्दाहरूलाई समेट्दै नीति तथा कार्यनीति पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टीका नेताहरूले राष्ट्रियता र संविधानको रक्षा गर्दै जनमुखी शासन प्रणाली निर्माणका लागि सशक्त पहल आवश्यक रहेको स्पष्ट पारेका छन्।