चीन एक नम्बर हुँदा अमेरिका बन्नेछ असान्दर्भिक

काइल चान

वर्षौंदेखि सिद्धान्तकारहरूले ‘चिनियाँ शताब्दी’को सुरुवातको परिकल्पना गर्दै आएका छन्। त्यस्तो युगमा अन्ततः चीनले आफ्नो विशाल आर्थिक र प्राविधिक क्षमता उपयोग गरेर अमेरिकालाई उछिन्ने छ र विश्वशक्तिलाई बेइजिङको वरिपरि गोलबद्ध गर्नेछ।

त्यो शताब्दी सायद यसअघि नै सुरु भइसकेको छ। भविष्यमा जब इतिहासकारहरूले पछाडि फर्केर हेर्नेछन्, तब राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका सुरुवाती महिनाहरूलाई चीनले अमेरिकालाई पछि पारेर आफू अघि लागेको निर्णायक क्षणका रूपमा औँल्याउने छन्।

ट्रम्पको व्यापार युद्धमा वासिङ्टन र बेइजिङबीच एउटा निष्कर्षविहीन र अस्थायी युद्धविराम भएको छ। यसबाट केही फरक पर्ने छैन। लगत्तै ट्रम्पले ठूलो जित भएको दाबी गरे तर त्यसले ट्रम्प प्रशासन र अमेरिकाका सबैभन्दा मुख्य समस्यालाई उजागर गर्छ– चीनसँगको ठूलो युद्ध निर्णायक रूपले हारिरहँदा पनि अदूरदर्शी तरिकाले सानो झडपमा ध्यान केन्द्रित भइराख्नु।

अमेरिकी शक्ति र नवप्रवर्तनका स्तम्भहरूलाई ट्रम्पले चकनाचूर पारिरहेका छन्। उनको भन्सार महसुलले विश्व बजार र आपूर्ति शृंखलामा अमेरिकी कम्पनीहरूको पहुँचलाई खतरामा पारिरहेको छ। सार्वजनिक शोधमाथिको लगानी उनी कटौती गरिरहेका छन्, विश्वविद्यालयहरूलाई दुःखी तुल्याइरहेका छन्। जसका कारण प्रतिभाशाली अनुसन्धानकर्ताहरूलाई अन्य देश जान बाध्य पारिरहेका छन्। उनी स्वच्छ ऊर्जा र सेमिकन्डक्टर उत्पादनजस्ता प्रविधि विकासका कार्यक्रम हटाउन चाहन्छन् र विश्वको ठूलो हिस्सामा अमेरिकी सफ्ट पावर समाप्त गरिरहेका छन्।

चीन भने बिल्कुलै उल्टो दिशामा छ।

कयौँ उद्योगमा चीनले पहिल्यै उत्पादनको नेतृत्व गरिरहेको छ– स्टिल, एल्मुनियम, पानीजहाज निर्माण, ब्याट्री, सौर्य ऊर्जा, विद्युतीय सवारी, वायु ऊर्जा, ड्रोन, फाइभजी उपकरण, इलेक्ट्रोनिक्स, औषधिको कच्चा पदार्थ र बुलेट ट्रेन। २०३० सम्ममा चीनले विश्वको उत्पादनको झण्डै आधा अर्थात् ४५ प्रतिशत हिस्सा ओगट्ने प्रक्षेपण गरिएको छ।

बेइजिङ भविष्य पनि हाफ्नो मुठ्ठीमा पार्न कटिबद्ध छ। मार्चमा उसले १३८ अर्ब डलरको राष्ट्रिय उद्यम पुँजी घोषणा गरेको छ। जसले क्वान्टम कम्प्युटिङ र रोबोटिक्सजस्ता अत्याधुनिक प्रविधिमा दीर्घकालीन लगानी गर्नेछ। साथै उसले सार्वजनिक अनुसन्धान र विकासका लागि पनि बजेट बढाएको छ।

चीनको यो शैलीले आश्चर्यजनक नतिजा दिँदै आएको छ।

जब जनवरीको सुरुमा चिनियाँ स्टार्टअप डिपसिकले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट सार्वजनिक गर्‍यो, तब धेरै अमेरिकीहरूलाई अचानक थाहा भयो– चीनले अमेरिकासँग एआईमा प्रतिस्पर्धा गर्न सक्ने रहेछ। तर, प्रविधिका क्षेत्रमा अमेरिका पछि परेको यो एक्लो उदाहरण होइन। यस्ता क्षणहरूको शृंखला नै बनिसकेको छ।

कुनै समय ट्रम्पका सहयोगी इलोन मस्कले चिनियाँ ईभी निर्माता बीवाईडीलाई हाँसोमा उडाएका थिए। त्यही कम्पनीले गतवर्ष विश्वव्यापी बिक्रीमा टेस्लालाई पछि पारिदियो। बीवाईडीले विश्वभर नयाँ कारखाना बनाइरहेको छ। मार्चमा सो कम्पनीको बजार मूल्यले फोर्ड, जीएम र फक्सवागनको संयुक्त बजार मूल्यलाई उछिनेको छ।

चीन औषधि आविष्कार, खासगरी क्यान्सर उपचारमा पनि निकै अघि बढिरहेको छ। २०२३ मा चीनले बनाएको औद्योगिक रोबोटको संख्या बाँकी जम्मै देशले बनाएको रोबोटभन्दा ज्यादा थियो।

यो शताब्दीको सबैभन्दा महत्त्वपूर्ण वस्तु सेमिकन्डक्टरमा चीन लामो समयदेखि कमजोर थियो। अहिले ह्वावेको नेतृत्वमा प्राप्त गरेको सफलतापछि चीन आत्मनिर्भर आपूर्ति शृंखला तयार गर्दैछ। महत्त्वपूर्ण कुरा– यी र अन्य एकअर्कासँग अन्तर्सम्बन्धित प्रविधिहरूको विकासले यससँग जोडिएका अन्य क्षेत्रलाई पनि सुदृढ र उन्नत बनाइरहेको छ।

तैपनि ट्रम्प भन्सार महसुलमै अडिइरहेका छन्। चीनले उत्पन्न गरेको खतरा कति ठूलो हो भन्ने कुराको भेउ उनले पाउन सकेका छैनन्। दुई देशले अघिल्लो साता महसुल घटाउने घोषणा गर्नुअघि चिनियाँ सामानमा उच्च भन्सारका कारण अमेरिकामा उपभोग्य सामान अभाव हुनसक्ने चिन्तालाई ट्रम्पले खारेज गरेका थिए। अमेरिकीहरूले आफ्ना बच्चालाई खेलौना अलि कम किने भइहाल्छ नि भन्ने उनको भनाइ थियो। चीन खेलौना र अरु सस्तापुराना माल उत्पादन गर्ने कारखाना मात्र भएको उनको आशय देखिन्थ्यो।

अमेरिकाले के कुरा बुझ्न आवश्यक छ भने भन्सार लगाउँदैमा वा अन्य कुनै व्यापारिक दबाबका भरमा चीनले आफ्नो राज्य निर्देशित आर्थिक रणनीति त्यागेर अचानक अमेरिकाले चाहेको जस्तो औद्योगिक र व्यापारिक नीति अपनाउने छैन। जेसुकै होस्, बेइजिङले राज्यको नेतृत्वमा काम गर्ने शैलीमा दुईगुणा जोड दिनेछ। र, प्रविधिमा प्रभुत्व हासिल गर्न अभूतपूर्व ध्यान केन्द्रित गर्नेछ।

चीनका आफ्नै गम्भीर चुनौती छन्। लामो समयदेखि रियल स्टेट क्षेत्रमा छाएको मन्दीले आर्थिक वृद्धिलाई धिमा बनाइरहेको छ। अन्ततः यो क्षेत्रमा सुधारका केही संकेत देखिएका छन्। दीर्घकालीन चुनौतीहरू पनि छन्। जनसंख्या बुढो हुँदै जाँदा श्रमशक्ति घट्दो छ।

एकथरीले चीन चरममा पुगेको र अब पतनको बाटोमा ओर्लिने अनुमान लगाएको धेरै वर्ष भइसक्यो। तर, हरेकचोटि उनीहरू गलत साबित हुँदै आएका छन्। चीनमा राज्य नियन्त्रित व्यवस्था छ। जसले गर्दा उसले आफ्नो इच्छाअनुसार दीर्घकालीन राष्ट्रिय हितका लागि नीति परिवर्तन र स्रोतसाधन लगानी गर्न सक्छ। यसलाई खुला बजारका पक्षपातीहरूले रुचाए वा नरुचाए पनि नकार्न सकिन्न।

ट्रम्प भन्सार शुल्कजस्ता अल्पकालीन उपचारमा आँखा चिम्लेर लागेका छन्। अर्कोतिर, जुन कुराले अमेरिकालाई बलियो बनाउँछ, त्यो कुरा झन् कमजोर पार्दैछन्। यसले चिनियाँ बर्चस्वको सुरुवातलाई तीव्रता दिनेछ।

यदि दुवै देशको वर्तमान दिशा कायम रहने हो भने चीनले सम्भवतः कारदेखि चिपसम्म र एमआरआई मेसिनदेखि व्यावसायिक विमानसम्मका उच्चस्तरीय उत्पादनमा प्रभुत्व काम गर्नेछ। एआईमाथि बर्चस्वको लडाइँ अमेरिका र चीनबीच होइन, सेन्चेन र हाङचाउजस्ता चिनियाँ सहरहरूबीच लडिनेछ। विश्वभरि स्थापित हुने चिनियाँ कारखानाहरूले चीनलाई केन्द्रमा राखेर नयाँ आपूर्ति शृंखला बनाउने छन्। किनकि चीन संसारको सबैभन्दा ठूलो प्राविधिक र आर्थिक महाशक्ति हुनेछ।

त्यसविपरीत, अमेरिका भने अत्यन्तै कमजोर राष्ट्र बन्न सक्छ। भन्सार शुल्कको पर्खालपछाडि छेकिएका अमेरिकी कम्पनीहरूले आफ्नै घरेलु उपभोक्तालाई मात्रै सामान बेच्नेछन्। अन्तर्राष्ट्रिय व्यापार गुमेपछि कर्पोरेट आम्दानीमा गिरावट आउनेछ। र, उनीहरूसँग आफ्नो व्यवसायमा लगानी गर्ने पैसा पनि कम हुनेछ।

अमेरिकी उपभोक्ताले अमेरिकामै बनेका सामान मात्र उपभोग गर्नुपर्ने स्थिति हुने छ। जसको गुणस्तर मध्यम हुनेछ भने मूल्य विदेशी उत्पादनको तुलनामा निकै महँगो हुनेछ। किनकि अमेरिकामा उत्पादन खर्च ज्यादा छ। कामकाजी परिवारहरूले बढ्दो मुद्रास्फिति र घट्दो कमाइको सामना गर्नुपर्नेछ।

कार निर्माण तथा औषधि उत्पादनजस्ता परम्परागत रूपमा उच्च मूल्य भएका उद्योगहरू अमेरिकाले यसअघि नै चीनको हातमा सुम्पिसकेको छ। अब भविष्यका लागि महत्त्वपूर्ण उद्योगको पालो हो। सिंगो देश डिट्रोइट वा क्लिभल्यान्डजस्तो बने के होला, कल्पना गर्नुहोस्।

यो भयावह परिदृश्यबाट बच्ने उपाय भनेको आज सही नीति चुन्नु हो। यो कुरा स्पष्ट छ। त्यसका लागि यी विषयमा दुवै पार्टीको समर्थन प्राप्त भइसक्नुपर्ने हो– अनुसन्धान र विकासमा लगानी, प्राज्ञिक, वैज्ञानिक र कर्पोरेट नवप्रवर्तनलाई सहयोग, विश्वभरका मुलुकसँग आर्थिक सम्बन्ध विस्तार र अन्तर्राष्ट्रिय प्रतिभा तथा पुँजीका लागि आकर्षक वातावरण निर्माण। तर, ट्रम्प प्रशासनले यी प्रत्येक क्षेत्रमा ठिक उल्टो कदम चालिरहेको छ।

यो शताब्दी अमेरिकाको हुन्छ कि चीनको, त्यो हाम्रै हातमा छ। तर, दिशा बदल्ने समय सकिन लागिसकेको छ।

(न्युयोर्क टाइम्सबाट। काइल चान प्रिन्स्टन युनिभर्सिटीका अध्येता हुन्)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation