बैतडी । बैतडी जिल्लाको सदरमुकाम खलङ्गालाई केन्द्रविन्दु बनाएर गएराति दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । सुर्खेतस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो भूकम्प राति १ः४८ बजे ५.१ रेक्टर स्केलको र दोस्रो भूकम्प २ः०० बजे ३.७ रेक्टर स्केलको मापन गरिएको हो।
भूकम्पको लगातार दुई पटक धक्का महसुस भएपछि स्थानीयवासीहरु त्रसित हुँदै घर बाहिर निस्किएका थिए। भूकम्पको कम्पन बैतडीसँगै दार्चुला, बझाङ र डडेल्धुरामा समेत अनुभूति गरिएको बताइएको छ।
हालसम्म भूकम्पका कारण मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले क्षतिको अवस्था बुझ्न निगरानी सुरु गरिसकेको छ।