
रमा पन्थि
काठमाडौं, – पृथ्वी राजमार्गमा भएको अवरोधका कारण हजारौं यात्रु बाटोमै अलपत्र परेका छन्। कालोपत्रे कामको कारण सुरुङ्गमार्गसम्मको सडक अवरुद्ध हुँदा यात्रुहरू लामो समयसम्म गन्तव्यमा पुग्न सकेनन्।
प्राप्त जानकारी अनुसार, पहिला पुल भत्किएपछि राजमार्गमा ठूलो जाम लागेको थियो। हिजो साँझ ६, ७, र ८ बजे छुटेका सार्वजनिक यातायातका साधनहरू बिहान ५ र ६ बजे काठमाडौं पुग्ने अपेक्षामा थिए। तर, ती सवारी साधनहरू सुरुङ्गमार्ग पुग्दा दिउँसो १२ बजिसकेको थियो। सुरुङ्गमार्गमा पुग्दा पनि सडकको दुबै किनारमा सवारी साधनको लामो लाइन देखिएको थियो।
सडक कालोपत्रे गर्ने काम भइरहेको जानकारी दिइएको छ, तर पूर्व सूचना नदिइएकाले यात्रुहरू मारमा परेका छन्। कतिपय यात्रुहरू साँझको अन्तर्राष्ट्रिय उडान समात्ने तयारीमा थिए, भने केही कार्यालयको काम सकेर फर्कने योजनामा थिए। यस्तै, केही यात्रुहरूले अस्पतालमा समय लिएका थिए, जसमा वृद्धवृद्धा तथा गम्भीर बिरामी पनि समावेश छन्।
जाम लागेको स्थान वरपर होटल वा खाद्यान्न पसल नभएकाले यात्रुहरू—विशेषगरी बालबालिका र वृद्धवृद्धा—भोकले हैरान छन्। यात्रुहरू भन्छन्, “सडक बन्द हुनुको जानकारी न त चालकलाई दिइयो, न त यात्रुलाई। सुरक्षाका उपाय पनि अपनाइएको थिएन।”
सडकको भौगोलिक अवस्थासमेत विचार नगरिएको देखिन्छ। चालकहरू आफैं अन्योलमा परेपछि यात्रुहरू डर, असहज र आक्रोशमा छन्। करिब ३ बजे दिउँसोसम्म पनि बाटो खुल्न नसकेको यात्रुहरू बताउँछन्।
स्थानीय प्रशासन र सडक विभागले पूर्व सूचना नदिई ३ बजेसम्म एक्कासि बाटो बन्द गर्नु गैरजिम्मेवार भएको चालक र यात्रुहरूको गुनासो छ। तुरुन्त समाधान नगरे स्थिति झन गम्भीर बन्न सक्ने खतरा रहेको देखिन्छ।