जनताको जनजीविकालाई सम्बोधन गर्दै गणतन्त्रलाई अझै सदृढ बनाऔं : सभामुख

राप्ती उपत्यका देउखुरी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित र अझै सदृढ बनाउदै जनताको जनजीविकालाई सम्बोधन गर्नु आवश्यकता रहेको जनाउनु भएको छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जनताले अपनत्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ एकता सहितको रुपान्तरणको खांचो औंल्याउनु भयो ।
१८ औ गणतन्त्र दिवसको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख घर्ती मगरले यो दिवसले संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस भन्ने कामना समेत गर्नु भएको छ । नेपाली जनताको ठूलो बलिदानीपूर्ण संघर्ष पछि महत्वपूर्ण उपलब्धिका रुपमा प्राप्त गणतन्त्रलाई हामी आफैलाई रुपान्तरण गर्दै जन–जनमा मन–मनमा स्थापित गर्न सक्नु पर्ने जनाउनुहुँदै आजको दिन सयौं वर्ष लामो निरङकुश राजतन्त्रको अन्त्य गरी जनताको प्रत्यक्ष शासन चल्ने ब्यवस्थाको शुरुवात भएको दिन आज नेपाली राजनीतिक परिवर्तनको एउटा ऐतिहासिक महत्वको दिन रहेको जनाउनु भएको छ। उहाँले राज्य संरचनामा भएका परिवर्तनहरु सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन गर्नु पर्ने जिम्मेवारी आएको पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।
सभामुख घर्ती मगरले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण लुम्बिनी प्रदेशवासी नेपाली आमा–बुवा, दिदी–बहिनी तथा दाजु–भाईहरुमा सुख, शान्ति एवं संमृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्नु हुँदै गणतन्त्र स्थापनामा योगदान पु¥याउनु हुने महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन विभिन्न क्रान्ति, आन्दोलन र संघर्ष लगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ । साथै उहाँले राजनीतिक परिवर्तनको लागि सहिदहरुले पु¥याएको योगदानको उच्च सम्मान प्रकट गर्दै वेपत्ता परिवार तथा घाईते योद्धाहरुप्रति सम्मान व्यक्त गर्नुभएको छ ।
सभामुख घर्ती मगरले संघीयता माथी प्रश्न उठाई प्रहार गर्दा गणतन्त्र र जनतालाई अन्याय हुने जनाउनु भएको छ ।
नेपालको गणतन्त्रात्मक संविधान–२०७२ ले व्यवस्था गरे अनुरुप मुलुक संघीयतामा प्रवेश गरेको स्मरण गर्नुहुदै उहाँले गणतन्त्रको उपलब्धिको रुपमा मुलुकमा संघीय शासन ब्यवस्था आएको जनाउनु भएको छ । सभामुख घर्ती मगरले प्रदेश संरचना संघीयताको आधार र जननी भएको संघीयतालाई सफल बनाउने या असफल बनाउने भन्ने कुरा प्रदेशमा निर्भर रहेको जनाउनु भएको छ ।
“केन्द्रीकृत शासन व्यवस्थालाई विकेन्दीकरणको सिद्धान्त अनुसार गाउँ– गाउँमा जनतालाई सेवा पु¥याउनु यसको मुल ध्यय हो । तसर्थ जनतालाई सेवा सुविधा घरदैलोमा पु¥याउने व्यवस्थाको विकल्प अर्काे कुनै व्यवस्था जनताको लागि हितकर छैन । यो नै जनताको उच्चतम चाहना पनि हो । तर संघीयता माथी प्रश्न उठाउंदा सबैभन्दा वढि प्रहार प्रदेश माथी भएका छन् । ” सुभकामना सन्देशमा उल्लेख छ ” यो व्यवस्थाका विरुद्धमा जवरजस्त आवाज उठाउनु र प्रहार गर्नु जनता माथी नै अन्याय हुनेछ ।”
उहाँले लुम्बिनी प्रदेश सभा प्रदेशलाई आवश्यक पर्ने नीतिगत र कानुनी संरचना निर्माणको दृष्टीले निकै महत्वपूर्ण काम गरेको र केही ऐन कानुन बनाउन बाँकी रहेको जनाउनु भएको छ । “कतिपय संघीय ऐन बनाउन विलम्व हुँदा प्रदेशका ऐन कार्यान्वयन हुन सकेका छैनन् । निर्माण भएका ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने छ ।” सुभकामना सन्देशमा उल्लेख छ-” लुम्बिनी प्रदेशबासी जनताको साथ सहयोग र विश्वासले लुम्विनी प्रदेश सबैको मन मस्तिष्कमा छिट्टै स्थापित हुन सफल भएको छ । यो नै संघीयताको महत्वपूर्ण उपलब्धी हो ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation