
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार एकैदिन झन्डै ३ सय जनाले रक्तदान गरेर नवस्थापित रक्तसञ्चार केन्द्रको सुरुवात गरेका छन् । रूपन्देही व्यापार संघको एक करोड ५८ लाख २० हजार रुपैयाँको उपकरण सहयोगमा स्थापना गरिएको सो केन्द्रले अब संस्थागत र व्यवस्थित रूपमा रक्तसञ्चार सेवा दिने जनाइएको छ ।
शुभारम्भको अवसरमा २ सय ९७ जनाले रक्तदान गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रक्तदानलाई ‘महादान’ भन्दै सबैलाई निरन्तर संलग्न हुन आग्रह गरे । उनले भने, “रक्तमा लाग्ने शुल्कलाई निःशुल्क बनाउनेतर्फ सरकार अग्रसर छ, तर निजी र सामुदायिक अस्पतालमा कानुनी जटिलता छन, जुन फुकाउनेतर्फ ध्यान दिइरहेका छौँ ।
मुख्यमन्त्री आचार्यले अस्पतालको सेवा विस्तार, शल्यक्रिया सेवाको चुस्त व्यवस्थापन र प्रदेश सरकारको गौरव आयोजना अन्तर्गत यसलाई प्राथमिकतामा राखिएको बताए । उनका अनुसार, अस्पतालले अब अन्य स्वास्थ्य संस्थाहरूमाझ पनि सहज रूपमा रक्त आपूर्ति गर्न सक्नेछ ।