
दाङ । राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग विस्तृत योजना र कार्यक्रम समावेश गरेर आगामी आर्थिक वर्ष २०८२/८३ का लागि याेजना तथा बजेट माग गरेको छ। १२ वटा जिल्लाका लागि झण्डै अर्बौंको लागत अनुमान गरिएका ८० भन्दा बढी योजनाहरू समेटिएका छन्।
जनमोर्चाले प्रदेश सरकारलाई सँग स्थानीय पूर्वाधार सुधार, सडक निर्माण, सिंचाइ, खानेपानी, सामुदायिक भवन, विद्यालय व्यवस्थापन र पर्यटन प्रवर्द्धन जस्ता क्षेत्रहरूमा प्राथमिकता दिइएको छ। प्रदेश सभा सदस्य तारा थापाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर सो योजना माग पत्र बुझाएको हो ।
प्यूठानमा ११ योजना
शहीद स्मृति पार्क उद्यान निर्माण देखि खैरा पक्की पुल हुँदै झिमरुक नदी जोड्ने सडक, सिंचाइ कुलो र विद्यालय फर्निचर व्यवस्थापन सम्मका योजनामा १० लाख देखि ७१० लाख सम्मको बजेट प्रस्ताव गरिएको छ।
अर्घाखाँचीमा ६ प्रस्ताव
टन सरोज स्मृति प्रतिष्ठान, फुडवाङ व्यावसायिक कोरिडोर, विभिन्न सिंचाइ र खानेपानी योजनासहित बस्ती संरक्षणका कार्यक्रम प्रस्ताव गरिएको छ।
गुल्मीमा ८ योजना
चित्रबहादुर केसी अध्ययन प्रतिष्ठान, विभिन्न खानेपानी आयोजना, विद्यालय स्तरोन्नति, तटबन्धन र कृषि सडक निर्माणका कार्यक्रमहरू समावेश छन्।
दाङमा १० महत्त्वपूर्ण योजना
तुलसीपुर, लमही, राप्ती, गढवा, घोराही लगायतका क्षेत्रहरूमा विभिन्न सडक स्तरोन्नति, स्मृति प्रतिष्ठान, क्याम्पस व्यवस्थापन र नाला निर्माण प्रस्ताव गरिएको छ।
रुपन्देहीमा ८ योजना
पुस्तकालय व्यवस्थापनदेखि मस्जिदको फिनिसिङ, सिंचाइ कुलो मर्मत, बाटो कालोपत्रे, तटबन्धन र सडक स्तरोन्नति समावेश छन्।
कपिलवस्तुमा ४ योजना
सिंचाइ कुलो, बालउद्यान प्रवर्द्धन, अधुरो सडक कालोपत्रे र विद्यालय बाउन्ड्री वाल निर्माण माग गरिएको छ।
रोल्पा, पाल्पा, बाँके, बर्दिया र रुकुम पूर्वका लागि समेत योजनाहरू
सामुदायिक भवन, मोटरबाटो, खानेपानी, महिला सशक्तिकरण कार्यक्रम, तटबन्धन, पुल निर्माण, सिंचाइ र कृषि प्रवर्द्धनसम्बन्धी योजनाहरू विभिन्न वडाहरूमा प्रस्ताव गरिएका छन्।
राष्ट्रिय जनमोर्चाले प्रस्तुत गरेका यी योजनाहरू स्थानीय आवश्यकता र दीर्घकालीन विकासलाई दृष्टिगत गरी तयार पारिएको बताइएको छ। पार्टीले प्रदेश सरकारसँग यथाशीघ्र बजेटमा समावेश गर्न माग गर्दै प्रदेशको समुचित विकासका लागि पहल गर्न आह्वान समेत गरेको छ।