राष्ट्रिय सहकारी अभियानको लुम्बिनी प्रदेशको प्रथम भेला सम्पन्न

बुटवल : राष्ट्रिय सहकारी अभियान लुम्बिनी प्रदेशको प्रथम भेला बुटवलमा सम्पन्न भएको छ  ।  लुम्बिनी प्रदेशका जिल्लाहरुबाट उपस्थित सहकारी प्रतिनिधिहरुको भेलाको उद्घाटन रास्ट्रीय  सहकारी अभियानका केन्द्रिय अध्यक्ष गंगालाल सापकोटाले गर्नुभएको थियो । भेलाका प्रमुख अतिथि सापकोटाले संविधानमा उल्लेख भएको तीन खम्बे देश विकासको परिकल्पना मध्यको एउटा खम्बा सहकारी क्षेत्रलाई उचित नीति र कानुन मार्फत राज्यले प्रवर्धन र नियमन गर्नुपर्नेमा भइरहेका कानुनहरूको पनि उचित रुपमा कार्यान्वयन नभएको कारणले मुख्य रूपमा सहकारीहरूमा अहिलेको समस्या सृजित भएको बताउनुभयो । सरकारले हालै सहकारीसँग सम्बन्धित केहि  ऐन र मापदण्डहरू जारी गर्दा पनि सहकारी क्षेत्रको प्रवर्द्धन र विकासका लागि भन्दा पनि सहकारी क्षेत्रलाई अझै साँघुरो घेराभित्र राख्ने र आम समुदायको भन्दा पनि निश्चित वर्ग लाई फाइदा पुग्ने अनुकूल वातावरण तयार गर्ने काम गरेको बताउनुभयो । उहाँले मन्तव्यमा सहकारी संविधानमा उल्लेख भएपनि देशको सन्दर्भमा कस्तो सहकारी नीति हुने र सहकारी प्रवर्धनको प्रष्ट खाका के हुने भन्ने कुरामा राज्य नै अलमल रहेको विचार व्यक्त गर्नुभयो। यसका साथै सहकारीहरूलाई केही शक्ति केन्द्र र राजनीतिक संरक्षणमा  केही सहकारीका ठगहरूले  आफ्नो स्वार्थ सिद्ध गर्नको लागि सहकारीलाई उद्यम बनाएकोले अहिलेको सहकारी समस्या सिर्जना भएको  बताउनु भयो । यसलाई चिर्नको लागि  सहकारीहरू सही ढङ्गले निति विधि र प्रविधि सम्बद्ध ढंगबाट सञ्चालन गर्दै समुदायलाई सचेत गराउँदै सहकारी मार्फत सामूहिक उत्पादन र सहकार्य भावनाको विकास गर्दै समाजवादी समाज निर्माणको लागि सहकारी क्षेत्रलाई आम समुदायको बीचमा अभियानको रुपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो । सहकारीको स्थापना नै शोषणबाट मुक्तिको लागि भएकोले त्यसका सिद्धान्त र आदर्शलाई पनि हामीले अँगाल्दै जानुपर्ने र हामीले हाम्रो समाज र हामीले लिएको विचार र सिद्धान्त हरूबाट गाइडेड भएर सहकारी अभियान अगाडि बढाउँदै जानुपर्ने कुरामा जोड दिनुभयो ।
प्रदेश तहको यो पहिलो भेला भएकोले भेलाबाट चयन समितिले यस प्रदेशमा संगठन निर्माण र भेलाहरू गर्दै संगठनलाई संस्थागत गर्दै अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने कुरामा केन्द्रीय समिति विश्वस्त रहेको बताउनुहुँदै भेलाबाट चयन भएको प्रदेश समितिलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
उक्त कार्यक्रममा जनजाति सम्मेलनका महासचिव अमरध्वज रानाले मुख्य गरी पालिका तहमा स्थानीय सरकारले चाहने हो भने सहकारी क्षेत्रलाई सहज ढङ्गले प्रवर्द्धन र नियमन गरी अगाडि बढाउन सक्ने गरी कानुनमा व्यवस्था भएकोले स्थानीय तहबाटै हाम्रो आधार क्षेत्रहरूमा अभ्यासको रुपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभएको थियो।
सहकारी अभियानका केन्द्रीय सल्लाहकार लिला बहादुर केसीले सहकारी क्षेत्रको अहिलेका जल्दो बल्दो समस्याहरूलाई जनताको बीचमा वास्तविक कुरा लैजाँदै सहकारीमा फैलाइएका भ्रमहरूलाई चिर्नुपर्ने दायित्व राष्ट्रिय सहकारी अभियानको रहेको कुरामा जोड दिनुहुँदै संगठन निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो। कार्यक्रममा अन्टुकका जिल्ला अध्यक्ष कविराज गिरीले पनि भेलाको सफलताको शुभकामना दिनुभएको थियो।

लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रीय समितिका सदस्य लोकेन्द्र सुनारको अध्यक्षतामा सम्पन्न भेलाले तीन स्थान रिक्त सहित लोकेन्द्र सुनार प्युठान अध्यक्ष रहेको १३ सदस्य सहकारी अभियान लुम्बिनी प्रदेश तदर्थ समितिको चयन गरेको छ। समितिको उपाध्यक्षमा सम्झना पौडेल नवलपरासी , सचिवमा कविराम भट्टराई रुपन्देही, कोषाध्यक्षमा गिरबहादुर पौडेल दाङ, त्यसैगरी सदस्यहरूमा हेमलाल खनाल अर्घाखाँची, लक्ष्मी कुवर रुपन्देंवर, दिनमणि पौडेल प्युठान, विष्णु थापा रुपन्देही, रामप्रसाद गैरे पाल्पा,रामबहादुर चमार कपिलवस्तु रहनुभएको छ भने तीन स्थान रिक्त राखिएको छ। यसैगरी समितिको बैठकले अमरध्वज राना प्युठान र के.पी पोखरेल रूपन्देहीलाई सल्लाहकारमा चयन गरेको छ।
निर्वाचित समितिको तर्फबाट अध्यक्ष लोकेन्द्र सुनारले राष्ट्रिय सहकारी अभियानलाई समितिको समग्र टिमको गतिशीलता बाट हामीले यस प्रदेशमा संगठन विस्तार गर्दै  अगाडि  बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उपस्थित सहभागीहरूलाई केन्द्रीय सदस्य कविराम भट्टराईले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य कमला बन्जाडे भुषालले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation