
मोहनविक्रम सिंह
‘कामरेड जलजला’ उपन्यासले सुदूर अन्तरिक्षको मङ्गल ग्रहमा साम्यवादी समाज निर्माणको परिकल्पना गरेको छ ।
कामरेड जलजला केही दिनदेखि लखनऊको कुर्माञ्चल टोलमा सुनन्दाकी फुपू सरस्वतीकहाँ नै बसेकी थिइन् । एकदिन उनी हजरतगञ्जतिर गइन् । त्यहाँ एउटा ठुलो पुस्तक पसल थियो । उनले त्यहाँ केही पुस्तक पनि किनिन्, जसमा हिन्दी र अङ्ग्रेजीमा लेखिएका अन्तरिक्षसम्बन्धी पुस्तक पनि थिए । उनले त्यही दिनको रातिसम्म बसेर एउटा पुस्तक सिध्याइन र अर्को दिन अर्का दुईओटा पुस्तक पढेर सिध्याइन् ।
त्यो बेला गर्मीको मौसम थियो । त्यसैले सरस्वतीसँगै उनी पनि घरको छतमा सुत्ने गर्दथिन् । केही बेरसम्म उनले विभिन्न विषयमा सरस्वतीसँग कुरा गरिरहिन् । कुरा गर्दागर्दै उनी निदाइन् तर जलजलालाई निद्रा लागेन । उनी उत्तानो परेर सुतेकी थिइन् । उनका आँखाका अगाडि विशाल आकाश थियो । त्यहाँ लाखौँ, करोडौँ, सायद त्योभन्दा पनि कयौँ गुणा बढी तारा चम्किरहेका थिए । उनले कैयौँ बेरसम्म आकाशतिर हेरिरहिन् ।
उनी निदाएकी थिइनन् । उनी जागेकी पनि थिइनन् । उनले सपना पनि देखिरहेकी थिइनन् तैपनि उनले अन्तरिक्षबारे पढेका कैयौँ कुरा उनको मनमस्तिष्कमा घुमिरहेका थिए । उनलाई यस्तो लाग्न थालेको थियो कि ती कुरा सोच्दासोच्दै उनले अन्तरिक्षमा नै परिभ्रमण गर्न थालेकी थिइन् ।
प्राक्कथनमा लेखिएको छ– “यो उपन्यास भएकाले यसमा कल्पनाको पनि ठुलो मात्रामा प्रयोग गरिएको छ तर त्यो कल्पना वास्तविकताका विरुद्ध जाँदैन । वास्तविकताभन्दा कल्पनाको मदतद्वारा वास्तविक जीवनका सीमाको अतिक्रमण गरेर बाहिर निस्कन बढी मदत पुग्छ । बढी स्वतन्त्रता प्राप्त हुन्छ । धर्तीभन्दा धेरै माथि आकाशमा विचरणका लागि कल्पनालाई बढी अवसर प्राप्त हुन्छ ।”
त्यस सिलसिलामा अगाडि लेखिएको छ– “यस उपन्यासमा जलजलाको निर्माण गर्दा पनि त्यस प्रकारको स्वतन्त्रताको उपयोग गरिएको छ ।
त्यो धेरै नै गरिएको छ । उपन्यासकी जलजला वास्तविकभन्दा काल्पनिक बढी हुनेछिन् । उपन्यासका घटनाक्रमको स्वरूप पनि बढी काल्पनिक नै हुनेछ तर उनका बारेमा जे जति कल्पना गरिनेछ । त्यसको जग वास्तविकतामाथि आधारित हुनेछ । उनी वास्तविकताको जगमा उभिएर नै धेरैमाथि उठ्नेछिन्, धेरै… धेरै, धेरै माथि आकाशसम्म अन्तरिक्षसम्म । आकाशमा कहाँसम्म ? त्यसको कुनै सीमा छैन । त्यो अनन्त छ । असीम छ । माथि उठ्दाउठ्दै जलजला त्यो असीम र अनन्तमा मिल्छिन् ।”
उनी धर्तीबाट माथि उठिन् र आकाशतिर उड्न थालिन् । वास्तविक जगत्मा उनका लागि त्यसरी आकाशमा उड्नु सम्भव थिएन तर उपन्यासकी जलजलामा कल्पनाले पनि ठुलो मात्रामा काम गरेको छ । त्यसैले वास्तविक जलजलालाई आकाशमा वा सुदूर अन्तरिक्षमा उड्नु अवश्य पनि सम्भव हुँदैनतर उपन्यासकी कामरेड जलजलामा कल्पनाको पनि ठुलो मात्रामा प्रयोग गरिएको हुनाले उनका लागि त्यसरी धेरै माथिसम्म आकाशमा उड्नु सम्भव हुन जान्छ ।
उनले केही बेर पृथ्वीको परिक्रमा गरिन् । पृथ्वीको गुरुत्वाकर्षणले उनलाई केही बेर रोक्यो तर त्यो गुरुत्वाकर्षणले उनलाई रोक्न सकेन । उनी आकाशमा झन् झन् माथि उड्दै गइन् र चन्द्रमामा पुगिन् ।
चन्द्रमाको चर्चा गर्दै उपन्यासमा लेखिएको छ–“त्यो उपग्रह पृथ्वीभन्दा बिलकुल बेग्लै थियो । त्यहाँ हावा थिएन । पानी थिएन । कुनै वनस्पति थिएन । त्यहाँ जीवनको अभाव थियो । त्यो मृत ग्रहजस्तो देखिन्थ्यो” तैपनि उनलाई त्यो ग्रह धेरै नै राम्रो लाग्यो । त्यहाँ ठुल्ठुला ज्वारभाटा उठ्ने गर्दथे । पृथ्वीको गुरुत्वाकर्षणले नै त्यहाँ ती ज्वारभाटा उठ्ने गरेका हुन्थे । एकपल्ट ती ज्वारभाटाले उनलाई पनि उडाएर धेरै माथि आकाशसम्म पुऱ्याएका थिए । ती ज्वारभाटा धुलाका नै हुन्थे र उनी पूरै धुलाले ढाकिएकी हुन्थिन् । ती ज्वारभाटाबाट उम्केपछि उनी चन्द्रमाको भूमिमा घुम्न थालिन् ।
चन्द्रमा पछि उनी सूर्यको सतहमा पुगिन् । त्यसको तापमान अत्यन्त धेरै थियो ।
टाढाबाट हेर्दा सूर्य प्रकाशको एउटा गोलाजस्तो देखिन्थ्यो तर त्यसको नजिक पुगेपछि उनलाई थाहा भयो, त्यहाँ लगातार विस्फोट भएर आगोका ठुला ठुला ज्वाला निस्किरहेका थिए । त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “सूर्य संसारभरका क्रान्तिकारीको आदर्श थियो । क्रान्तिको प्रतीक थियो । त्यसले सबैतिर प्रकाश फैलाउँथ्यो । क्रान्तिको सन्देश फैलाउँथ्यो ।”
त्यस सन्दर्भमा उपन्यासमा अगाडि लेखिएको छ– “अहिले उनले अनुभव गरिरहेकी थिइन्, सूर्यबाट निस्केका ज्वाला उनीमाथि आइरहेका थिए । उनी पूरै नै सूर्यबाट निस्केका ज्वालामा डुबेकी थिइन् । उनी रक्तवर्ण सूर्यमा परिणत भएकी थिइन् । त्यसबाट उनलाई असीम शक्ति प्राप्त भएझैँ अनुभूति भइरहेको थियो । क्रान्तिको वेदीमा सम्पूर्ण रूपले आफूलाई होम्नका लागि असीम ऊर्जा प्राप्त भएजस्तो अनुभव भइरहेको थियो । उनलाई यस्तो अनुभव भइरहेको थियो, उनी अजेय बनेकी थिइन् ।
अब उनलाई यस्तो लाग्न थालिरहेको थियो, उनी संसारभर व्याप्त शोषण, उत्पीडन र असमानतामाथि सबै प्रतिक्रियावादी व्यवस्थामाथि विजय प्राप्त गरेर नयाँ स्वर्णिम जीवनको झन्डा फहराउन सफल हुनेछन् । अब कसैले पनि उनको गतिलाई रोक्न सक्दैनथ्यो । उनको वेगलाई रोक्न सक्दैनथ्यो ।”
सूर्यको एउटा विशाल संसार थियो । त्यसका करिब एक दर्जन ग्रह थिए । करिब डेढ हजार उपग्रह, करोडौँ सूक्ष्म उपग्रह थिए । त्यसका कैयौँ उल्कापिण्ड र धूमकेतु थिए । सूर्य पृथ्वीभन्दा १० लाख गुणा ठुलो थियो ।
यो सोचेर जलजला मनमनै आश्चर्यचकित भइन् । सूर्यको आकार कति विशाल थियो ? त्यसको स्थिति कति भव्य थियो । त्यसको आयु पनि धेरै नै लामो थियो । त्यसको निर्माण करिब साढे चार अरब वर्षपहिले भएको थियो । त्यसको आयु अझै ५ अरब वर्षजति बाँकी थियो । त्यसरी त्यसको त्यति लामो आयु अकल्पनीय थियो ।
तर यो सोचेर उनलाई दुःख लागेर आयो कि त्यति विशाल आकार र लामो आयु भएको सूर्यको पनि एक दिन अन्त्य हुनेछ । त्यो सोचाई एकदम भयानक थियो । यो सोचेर उनी अरू आतङ्कित भइन् कि सूर्यको अन्त्यका साथै त्यसका सबै ग्रह र पृथ्वीको समेत अन्त्य हुनेछ । कति भयानक र पीडादायक थियो त्यो सोचाइ ?
उपन्यासमा लेखिएको छ– “त्यो सोच्दासोच्दै उनले आफ्नाबारे पनि सोचिन् । त्यसरी उनको पनि अन्त अवश्यम्भावी थियो । हो, त्यो अवश्यम्भावी थियो तर उनी मर्न चाहँदिनथिन् । उनी बाँच्न चाहन्थिन् । लामो समयसम्म बाँच्न चाहन्थिन् । बाँचेर धेरै काम गर्न चाहन्थिन् । सम्पूर्ण जीवन पार्टी र क्रान्तिका लागि समर्पित गर्न चाहन्थिन् ।
मृत्यु उनका अगाडि आउन सक्थ्यो तर त्यसका लागि चिन्ता गर्नुपर्ने आवश्यकता थिएन । जबसम्म उनी बाँच्थिन्, आफ्नो उद्देश्य पूरा गर्नका लागि लगातार सक्रिय हुनु उनको कर्तव्य हुन्थ्यो ।”
सायद उनको चरित्रको आधारभूत विशेषता नै यो थियो कि उनले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि पार्टी र क्रान्तिका लागि नै आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने कुरा सोच्दथिन् । उपन्यासमा उनीबारे अन्यत्र लेखिएका विवरणबाट पनि त्यही कुरा थाहा हुनेछ । आफ्नो जीवनको सबैभन्दा कठिन र प्रतिकूल परिस्थितिमा पनि उनले लेखेका चिठीबाट पनि त्यही कुरा थाहा हुनेछ । उपन्यासमा अन्य कतिपय परिच्छेदमा उनी र अजितका बिचमा भएका त्यस प्रकारका चिठी दिइएका छन् । ती चिठीबाट थाहा हुनेछ कि आफ्नो जीवनको अत्यन्त कठिन र प्रतिकूल परिस्थितिमा पनि उनले पार्टी र क्रान्तिका लागि, शोषितपीडित मिहिनेतकस जनताको मुक्तिको लागि आफ्नो जीवन समर्पण गर्ने कुरा नै सोच्दथिन् ।
सूर्यको सबभन्दा नजिकको ग्रह बुध थियो । उनी सूर्यको सतहबाट बुध ग्रहतिर लागिन् । त्यो ग्रहमा चन्द्रमामा जस्तै हावापानी वा वनस्पति केही थिएन । त्यो अत्यन्त शुष्क थियो । उनी केही बेर त्यो ग्रहमा यताउता घुमिन् तर उनलाई धेरै बेरसम्म त्यहाँ बस्न मन लागेन । त्यसकारण उनी छिट्टै नै शुक्र ग्रहतिर लागिन् । त्यसलाई भेनस भनिन्थ्यो । त्यसको अर्थ हुन्थ्यो प्रेमकी देवी ।
उपन्यासमा लेखिएको छ– “अहिले उनी त्यही प्रेमकी देवी भेनसको ग्रहमा आइपुगेकी थिइन् तर यो सोचेर उनलाई दुःख लागेको थियो कि उनी एक्लै थिइन् । अजित सँगै नभएकोमा उनलाई नरमाइलो लागिरहेको थियो । त्यति राम्रो ग्रहमा सँगै घुम्न पाएको भए उनीहरू दुबैलाई कति धेरै खुसी लाग्ने थियो ? उनी एक्लै भएकाले उनलाई धेरै बेर त्यहाँ घुम्न मन लागेन र उनी मङ्गल ग्रहतिर लागिन् ।”
त्यो ग्रहका दुईओटा उपग्रह वा चन्द्रमा थिए । पृथ्वीमा एउटा चन्द्रमा मात्र देख्ने बानी लागेको जलजलालाई मङ्गल ग्रहका दुईओटा चन्द्रमा देखेर धेरै नै आश्चर्य लाग्यो तर उनलाई त्यो बेला यो थाहा थिएन कि उनले पछि अन्य ग्रहका त्यो भन्दा बढी कैयौँ चन्द्रमा देख्नेछन् । त्यो ग्रह धेरै नै चिसो थियो । त्यहाँको आकाश सफा देखिन्थ्यो । कतै तुषारो वा हुस्सु पनि देखिन्थ्यो । उत्तरपट्टि ठुलो भूभागमा हिउँले ढाकिएको दृश्य देखिन्थ्यो । त्यहाँ ठुला ठुला खाडल थिए । एउटा खाडल यति ठुलो थियो कि त्यो दुई हजार किमि चौडा र चार किमि गहिरो थियो । त्यहाँ ठुला ठुला घाँटी पनि थिए । तिनीहरूमध्ये एउटा घाँटी चार हजार किमि लामो, दुई सय किमि चौडा र ६ किमि गहिरो थियो ।
कामरेड जलजला केही बेरसम्म एक्लै हिउँमा खेलिन् । त्यसबारे उपन्यासमा लेखिएको छ– “उनले चिच्याएर अजितलाई भन्न खोजिन्, ‘कस्तो लाग्यो मङ्गल ग्रह ? यहाँ घर बनाएर बस्न पाए हुने ?’ उनलाई अजितले हाँस्दै सोधेजस्तो लाग्यो, ‘बरफको घर बनाउने ?’
‘हो, बरफको घर । आकाश छुने घर’ जलजलाले भनिन्– ‘अनि हामीले हाम्रा सबै साथीहरूलाई यही बोलाउँला । संसारभरिका शोषितपीडित जनतालाई यहीँ ल्याउँला । यहाँ कुनै अन्याय हुने छैन । शोषण र उत्पीडन हुने छैन । सबै स्वतन्त्र हुनेछन् । सबै सुखी हुनेछन् ।’
यो हाम्रो नयाँ संसार हुनेछ । मार्क्सले कल्पना गरेजस्तो साम्यवादी संसार, वर्गविहीन र शोषणविहीन समाज ।”
अहिले संसारमा कैयौँ वैज्ञानिकले मङ्गल ग्रहमा मानवबस्तीको निर्माणबारे विचार गर्न थालेका छन् । त्यससम्बन्धी कैयौँ योजना वा परियोजना पनि बन्न थालेका छन् । निश्चय नै त्यस प्रकारका सबै योजना वा परियोजनाको स्वरूप पुँजीवादी प्रकारको नै हुनेछ तर कामरेड जलजला उपन्यासले जुन परिकल्पना गरेको थियो, त्यो समाजवादी वा साम्यवादी प्रकारको थियो, वर्गविहीन र शोषणविहीन समाजको परिकल्पना ।
उपन्यासमा अगाडि लेखिएको छ– “उनले एक्लै कैयौँ बेरसम्म अजितसित मनमनै कुरा गरिरहिन् ।” त्यो कुराकानी मङ्गल ग्रहमा समाजवादी, साम्यवादी वा वर्गविहीन वा शोषणविहीन समाज निर्माणको परिकल्पनासित नै सम्बन्धित थियो । संसारका लाखौँ कम्युनिस्टले त्यस प्रकारको सपना देख्दै आएका थिए । सपना मात्र होइन, त्यसका लागि सङ्घर्ष गर्दै र आफूलाई बलिदान दिँदै पनि आएका थिए । संसारभरका लाखौँ कम्युनिस्ट, करोडौँ शोषितपीडित र करोडौँ मिहिनेतकस जनताको त्यो सपनालाई कामरेड जलजला उपन्यासले मङ्गल ग्रहमा चरितार्थ गर्ने परिकल्पना गरेको थियो ।
उपन्यासमा अगाडि लेखिएको छ– “उनले एक्लै कैयौँ बेरसम्म अजितसित मनमनै कुरा गरिरहिन् । उनले प्रायः त्यस्तै गर्दथिन् । जब उनी एक्लै हुन्थिन्, अजितसित दोहोरो कुरा गरिरहेकी हुन्थिन् । त्यसो गर्दा उनलाई आनन्द लाग्थ्यो । उनी एक्लै भए पनि अजितसँगै भएजस्तो लाग्थ्यो । कल्पनामा भए पनि अजितसित सँगै हुन पाउँदा उनलाई धेरै प्रसन्नताको अनुभूति हुन्थ्यो ।”
कामरेड जलजलाले मङ्गल ग्रहमा चारैतिर हेर्दै घुम्न थालिन् । त्यहाँ टाढाटाढासम्म फैलिएका धुलाका ठुला ठुला मैदान थिए । हावाले धुलो उडाइरहेको दृश्य देखिन्थ्यो । ठाउँठाउँमा ठुला ठुला ज्वालामुखी थिए । ओलम्पस तिनीहरूमध्ये सबैभन्दा अग्लो थियो । त्यो मङ्गल ग्रहको सतहभन्दा २५ किलोमिटर माथि उठेको थियो । त्यो ज्वालामुखी माउन्ट एभरेस्टभन्दा तीन गुणा अग्लो थियो । त्यहाँ भएका ज्वालामुखी सौर्यमण्डलका नै सबैभन्दा ठुला थिए । उनी घुम्दाघुम्दै कतिपय ज्वालामुखीमा विस्फोट हुन्थ्यो । त्यहाँबाट निस्केका ज्वालामुखी आकाशमा माथिसम्म पुग्दथे । ती ज्वालामुखीका साथै उनी पनि आकाशमा माथिसम्म पुग्थिन् ।
उपन्यासमा लेखिएको छ– “उनले महसुस गर्दथिन्, ती क्रान्तिका ज्वाला थिए । त्यहाँ संसारभरिका लाखौँ, करोडौँ, अरबौँ जनताको इङ्क्लाबको आवाज गुन्जिरहेको थियो । उनी आत्मविभोर हुन्थिन् । उनलाई लाग्यो, ती क्रान्तिका ज्वालालाई कहिल्यै कसैले दबाउन सक्ने छैन । तिनीहरूले सम्पूर्ण संसारमा परिवर्तन र क्रान्ति ल्याउनेछन् ।”
उनले त्यही प्रकारका कैयौँ कुरा सोच्दै थिइन् । त्यही बेला उनलाई लाग्यो केही पर ठुलो जनसमूहको जुलुस आइरहेको थियो । उनीहरूको हातमा एउटा ठुलो हँसिया, हथौडाअङ्कित झन्डा थियो । त्यो झन्डा आकाशसम्म फैलिएको थियो । उनीहरूले जोडजोडले नारा लगाइरहेका थिए– “इङ्क्लाब जिन्दावाद झ् क्रान्ति अमर रहोस् ।”
उपन्यासमा अगाडि लेखिएको छ– “त्यो जुलुसका अगाडि अगाडि अजित पनि थिए । उनी दगुर्दै गइन् र त्यो जुलुसमा सामेल भइन् । उनले अजितले समातेको झन्डा समातिन् र उनले पनि जोडसित नारा लगाउन थालिन्– ‘इङ्क्लाब जिन्दावाद झ् क्रान्ति अमर रहोस् झ्’ त्यो आवाज टाढाटाढासम्म फैलियो, आकाश र धर्ती सबैतिर प्रतिध्वनित भयो ।”