
काठमाडौं। समाचार प्रकाशित तथा सम्प्रेषण गरेकै आधारमा पत्रकारहरूमाथि एकपछि अर्को पक्राउ पुर्जी जारी भएपछि नेपाल पत्रकार महासंघ र विभिन्न पार्टीनिकट पत्रकार संगठनहरू त्यसका विरूद्ध उभिएका छन्।
गत वर्ष सिधाकुरा डटकमका पत्रकारमाथि सर्वोच्च अदालतले कानुनी डन्डा लगाएको र मंगलबार पत्रकार दिलभूषण पाठकलाई अदालतले समाचार प्रशारण गरेको भन्दै पक्राउ पूर्जी काट्ने र दुईवटा सञ्चारमाध्यमलाई समाचार हटाउनुका साथै थप समाचार लेख्न बन्देज लगाउने आदेशका विरूद्ध उनीहरू सार्वजनिक मञ्चमा उभिन लागेका हुन्।
स्वतन्त्र प्रेसमाथि गरिएको हस्तक्षेपका विरूद्ध बिहीबार काठमाडौँमा ‘पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक व्यवस्था विपरित अदालतको ठाडो हस्तक्षेप र निकास’ विषयक अन्तरसंवादको आयोजना गरिएको छ।
उक्त अन्तरसंवादमा नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे र समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ वक्ता रहेका छन्।