विदेशको नागरिक भइसकेकालाई नेपाली नागरिकता दिन हुन्न : देउवा

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिक भइसकेकालाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् ।

ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

ब्रिटिस गोर्खा सैनिकले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वाभाविक भएको उनले बताए । तर, अर्को देशको नागरिकता लिइसकेपछि नेपालको दिन नसकिने उनले स्पष्ट पारे।

उनले अरू कामका निम्ति एनआरएनएलाई दिए सरहको नागरिकता दिन सकिने बताए। नेपाल जस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने उनको भनाइ थियो। नेपाल फर्कन चाहनेलाई स्वागत गर्न तयार रहेको उनले बताए। ‘…अरू देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरू सुविधाहरू दिन सकिन्छ’, उनले भने, ‘नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ।’

ब्रिटिस गोर्खा सैनिकबारे संसदीय समितिमा छलफल जारी रहेकाले संसद्बाट निष्कर्ष निस्कने उनले सुनाए। ‘जहाँसम्म गोर्खा ब्रिटिस सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ, त्यसमा म स्पष्ट छु’, उनले भने, ‘ब्रिटिस गोर्खा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नु भएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन्। छिटै निष्कर्ष निस्किनेछ।’ सभापति देउवाले गोर्खा सैनिकको इतिहास गर्बिलो रहेको बताए। ब्रिटिस गोरखा सैनिक नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको उनले उल्लेख गरे। नेपाल र बेलायतबीचको सम्बन्ध विस्तार हुनुमा गोरखा सैनिक फौज महत्वपूर्ण रहेको उनले टिप्पणी गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation