
रुपन्देही । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सोमवार नगर सभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रा अर्यालले बजेट प्रस्तुत गर्दै नगरको आन्तरिक स्रोतबाट ९५ करोड रुपैयाँ संकलन हुने अनुमानसहित आर्थिक योजना सार्वजनिक गरिन्। चालुतर्फ ४९ प्रतिशत र पूँजीगततर्फ ५१ प्रतिशत विनियोजन गरिएको यो बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको छ।
शिक्षाको क्षेत्रमा विद्यालय सुधार, डिजिटल लर्निङ र स्थानीय पाठ्यक्रम सुधारमा जोड दिइएको छ। सामुदायिक विद्यालयमा न्यूनतम मापदण्ड पुरा गर्न ६ करोड, डिजिटल शिक्षा प्रवर्द्धनका लागि १ करोड, स्थानीय पाठ्यक्रम सुधारका लागि ७० लाख विनियोजन गरिएको छ। छोरी पढाउँ कार्यक्रमअन्तर्गत छात्राहरूलाई निःशुल्क अध्ययनको व्यवस्था गर्न ५० लाख छुट्याइएको छ।
स्वास्थ्य क्षेत्रमा ज्येष्ठ नागरिकलाई लक्षित ‘बाआमासँग नगरप्रमुख’ कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाको स्वास्थ्य परीक्षणका लागि ३० लाख, अस्पताल व्यवस्थापनका लागि ६० लाख बजेट राखिएको छ।
रोजगारतर्फ ‘पढाइसँगै रोजगार’ कार्यक्रमलाई प्राथमिकता दिँदै स्नातक तथा स्नातकोत्तर विद्यार्थीहरूलाई ट्राफिक व्यवस्थापनमा खटाउने कार्यक्रमका लागि ५० लाख छुट्याइएको छ। घरेलु महिलालाई स्वरोजगारसँग जोड्ने कार्यक्रम अन्तर्गत ३ करोड, उद्यमी महिलाहरूका लागि ७० लाख, परम्परागत सीप विकास केन्द्रका लागि ८५ लाख विनियोजन गरिएको छ।
कृषिमा बुटवलका किसान हाम्रो सान कार्यक्रमलाई १ करोड, उपकरण खरिदमा किसान समूहलाई अनुदानस्वरूप १ करोड, दुग्ध उत्पादक किसानलाई प्रोत्साहन स्वरूप ५० लाख विनियोजन गरिएको छ।
पर्यटन प्रवर्द्धनका लागि बुटवललाई विश्रामस्थल बनाउने लक्ष्यसहित ५० लाख छुट्याइएको छ। सांस्कृतिक सहरका रूपमा विकास गर्न १ करोड १५ लाख, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि ५ करोड, ‘घुमौं बुटवल’ अभियानअन्तर्गत भ्रमण वर्ष घोषणा गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
नगर सौन्दर्यीकरण तथा वातावरण संरक्षणका लागि मुख्य र भित्री सडकहरु हरियालीकरण गर्न ३ करोड, ‘मेरो टोल म सफा गर्छु’ कार्यक्रमका लागि ७० लाख र झुम्सा खानेपानी ल्याउन तिनाउ गाउँपालिकाको मुहान क्षेत्र विकासका लागि २ करोड विनियोजन गरिएको छ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबास क्षेत्र व्यवस्थापनका लागि १ करोड ५० लाख र पुनःनापी कार्यका लागि २ करोड बजेट छुट्याइएको छ।
नगरप्रमुख खेलराज पाण्डेयले प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय जनशक्ति उत्पादन र खपतलाई जोड दिँदै, सीप विकास, प्राविधिक शिक्षाको पहुँच, स्वरोजगार, र घरेलु उत्पादनलाइ जोड दिए।