कलिमायाको कथा, एउटा छोरीको, संघर्ष र स्वतन्त्रताको संकल्प

कल्पना घिमिरे

आजभन्दा चार दशक अघिको कुरा हो। नेपालको एक सानो ग्रामिण गाउँमा कलिमायाको जन्म भयो। मध्यम वर्गीय किसान परिवारकी पाँचौं सन्तानका रूपमा जन्मिएकी उनी, दुई दिदी र दुई दाजुहरूको पछाडि आएकी थिइन्। उनका लागि समाजले निर्धारित गरेका सीमाहरू पहिले नै स्पष्ट थिए—छोरीको पढाइ अनावश्यक, विवाह अपरिहार्य र आवाज बन्द। शिक्षाको पहिलो सपना – “क ख ग” बाट सुरु भएको विद्रोह कलिमायाको स्कुले यात्रा कुनै सुनौलो सुरुवात होइन। उनका दिदीहरूलाई जस्तै उनलाई पनि घरका काममा संलग्न हुने अपेक्षा गरिन्थ्यो । मेलापात, गाइबाख्राको चरवाही, दाउरा काट्ने, बालबच्चा हेर्ने। तर पाँच वर्षको कलिमाया जब साथीहरू स्कुल जाँदा “कपुरी क खरायो ख” भन्दै पढ्न थाले, उनको कानले त्यो आवाज महसुस गर्यो ।

त्यो आवाज सपनाको आवाज बन्यो – पढ्नुपर्छ भन्ने आवाज। दिदीहरू स्कुल जानबाट बञ्चित भएकाले उसले भाइलाई स्कुल पुर्यो । याउने नाउँमा हात समाएर पढाइ सुरु गरिन्। भाइको सहयोगी बनिन्, अनि धीरे–धीरे आफैँ पनि शिक्षामा डुबिन्। गाउँमा छोरी पढ्ने चलन थिएन, छिटफुट गनिने संख्यामा मात्र केही अगुवाहरूका छोरीहरू स्कुल गएका थिए। तर कलिमाया भने त्यही छिटफुट संख्या भित्रको विद्रोही पात्र बनिन्। भोगाइको कठोर पाठशाला – ‘छोरी जातको’ नियति कलिमायाको आत्मा विद्रोही हुँदै गइरहेको थियो, तर समाज उसको शरीरलाई नियन्त्रण गर्ने प्रयासमै थियो। १४–१५ वर्ष नपुग्दै विवाहका प्रस्तावहरू आउन थाले।

“फलानो केटा धनी छ, राम्रो घर, राम्री बुहारी चाहिन्छ” भन्दै मान्छेहरू आउन थाले। कलिमायालाई चाहिँ भनिन्थ्यो—”केटा मन नपरेको भए के भयो? बुबाआमाले जति सोचेका छन्, त्यति नै हुने हो। ” उनकी एक दिदीको विवाहको रात उनीसँगै रुँदै बितेको थियो। “मलाई त्यो केटा मन परेको थिएन, मभन्दा धेरै जेठो पनि थियो” भन्ने दिदीको कुराले कलिमायाको मनमा आगो झैं पोल्यो। साना उमेरमै पराइघर पठाइने छोरीहरू, जस्का लागि बिहान ४ बज्न नपाउँदै उठेर पधेरोबाट पानी ल्याउने, धान कुट्ने, गोठको सफाइ गर्ने, अनि पीडा सहेर पनि चुप लागिरहनु पर्ने नियति थियो ।

आवाज उठाउने आँट – “म विवाह गर्दिन” कलिमाया कक्षा ९ र १० मा पुगेपछि उनको आत्मविश्वास झन बढ्यो। उनी कक्षाकी एक अग्रणी विद्यार्थी थिइन्—पढाइ, अतिरिक्त क्रियाकलाप, भाषण प्रतियोगिता, सबैमा अगाडि। उनको बोल्ड स्वभाव, राजनीतिक चेतना र कम्युनिस्ट सिद्धान्तप्रति झुकाव पनि तीव्र थियो। एक दिन उनले स्पष्ट शब्दमा भनिन्, “मैले विवाह गर्ने छैन जबसम्म म आफू तयार हुँदैन।” कसैले आश्वासन दिए, “विवाहपछि पनि पढ्न पाइन्छ,” तर उनले स्पष्ट भनिन्—”म अहिले विवाह गर्दिन, आइए नगरी म बिहे गर्दिन।” समाजसँगको टकराव – “दाइजो छैन, विवाह छैन” भन्ने सन्देश उनको संकल्प यति बलियो थियो कि उनले खुलेर समाजसँग टक्कर लिइन्।

क्याम्पस पढ्ने आफ्नो गाउँकी पहिलो छोरीको रूपमा उनी गर्वका पात्र बनिन्। तर घरभित्रको दबाब उस्तै थियो—”फलानो केटा त यति दिने रे दाइजोमा, फलानो त यस्तो धनी ! ” उनले यो सब कुरा एक कानले सुनेर अर्को कानले उडाइदिइन्। रिजल्टको प्रतीक्षामा रहेको बेला, एउटा प्रस्ताव आयो—”फलानो केटा छ, टाठो छ, विवाह गर्न तयार छ, अनि दाइजो पनि माग्दैन रे।” कलिमायाको मन झसङ्ग भयो—के यस्तै केटालाई खोज्दै थिएँ त म? दाइजो विना विवाह! जब प्रस्ताव पक्का भयो, गाउँमा कानेखुसी भयो—”फुलबारीमा बिहे, आँगन नपोली नि, केटीले आफू निर्णय गरी!” केहीले आलोचना गरे, तर धेरैले भने बधाई दिए। प्रतिरोधबाट प्रेरणासम्म – एउटा उदाहरणको यात्रा कलिमायाले आफ्ना नीतिहरूलाई व्यवहारमा उतारिन्—बिना दाइजो विवाह गरिन्, विवाहमा खर्च कम गरिन्, आफ्नो पढाइ जारी राखिन्।

उनले देखाइन् कि छोरीले पनि निर्णय लिन सक्छ, र आत्मनिर्णय सामाजिक क्रान्तिको पहिलो पाइलो हुन सक्छ। भन्ने दृष्टान्त बन्न सफल भइन् कलिमाया । आजको दिनमा कलिमाया मात्र एक महिला होइनन्, एक आदर्श हुन्। गाउँकी छोरीहरूले अब विवाहका प्रस्ताव आउँदा भनेका छन्—”हामी पनि कलिमाया जस्तै बन्न चाहन्छौँ।” उनी किन महत्त्वपूर्ण छन्? दाइजो प्रथा विरुद्धको पहिलो खम्बा: कलिमायाको बिना दाइजो विवाहले गाउँमा लहर नै ल्यायो। बालविवाहको सशक्तप्रतिकार: उनले उमेर नपुगेसम्म विवाह अस्वीकार गरिन्, शिक्षालाई पहिलो प्राथमिकतामा राखिन् ।

महिला शिक्षा र चेतनाको ज्वाला: उनी आफैँ गाउँको पहिलो महिला क्याम्पस छात्रा भइन्, अब धेरै छोरीहरूले उच्च शिक्षा लिन थालेका छन्। राजनीतिक सचेतना: उनी कम्युनिस्ट विचारधारामा आधारित भएर नारी समानताको पक्षमा उभिइन्। आजको दिनमा कलिमाया – संघर्षको उचाइबाट आशाको दीप कलिमाया अहिले पनि सामाजिक अभियानमा सक्रिय छिन्। उनले स्थानीय विद्यालयमा अंशकालीन अध्यापन पनि गरेकी थिन् पहिला । महिला सशक्तिकरण कार्यक्रमहरूमा उनको भूमिका प्रेरणादायी छ। उनी भन्छिन्, “पहिला मलाई ‘छोरी भएर पनि यस्तो गर्छेस्’ भन्ने सुनिन्थ्यो, अब ‘छोरी भएर पनि यस्तो गरिस्’ भन्दै गर्वले भन्छन्।”

उपसंहार: एउटा छोरी, एउटा विचार, एउटा विद्रोह कलिमायाको कथा कुनै उपन्यास होइन—यो वास्तविकतासँग गाँसिएको जीवन कथा हो, जसले समाजमा परिवर्तन ल्याउन सक्छ। कलिमायाले दाइजो अस्वीकार गरिन्, बालविवाहको विरुद्ध उभिइन्, अनि आत्मनिर्णयको उज्यालो बाटो आफैले बनाइन्। उनीजस्ता पात्रहरूले नै समाजको रुपान्तरण सम्भव बनाउँछन्। अब प्रश्न हामी सबै सामु छ—के हामी अझै पनि छोरीलाई चुप बस्न सिकाउँछौं, वा बोल्न दिने आँट राख्छौं ?यो प्रश्न समाजका बुज्रुकहरुलाई छोड्छु । क्रमश:

(  लेखक घिमिरे सन्चारिका समुह रुपन्देही सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीकी सदस्य हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation