बाङ्ग्लादेशमा सम्पन्न संसदीय निर्वाचनमा बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले दुईतिहाइ बहुमत हासिल गरेको छ। ३०० सिटमध्ये कम्तीमा २०९ स्थानमा जित हासिल गर्दै बीएनपी सबैभन्दा ठूलो दल बनेको निर्वाचन आयोगले जनाएको छ।
यस परिणामसँगै बीएनपीका नेता तारिक रहमान प्रधानमन्त्री बन्ने सम्भावना बलियो भएको छ। उनी १७ वर्ष विदेश बसाइपछि हालै स्वदेश फर्किएका थिए।
तर जमात-ए-इस्लामीले मतपरिणामप्रति असन्तुष्टि जनाउँदै निर्वाचन प्रक्रिया निष्पक्ष नभएको दाबी गरेको छ। निर्वाचन आयोगले भने चुनाव शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न भएको जनाएको छ।
यो निर्वाचन सन् २०२४ को जनआन्दोलनपछि गठन भएको अन्तरिम सरकारको नेतृत्वमा सम्पन्न भएको हो। पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लीग पार्टीलाई यसपटक चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो।
छिमेकी देश भारत र चीनले निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै नयाँ सरकारसँग सहकार्य गर्ने सन्देश दिएका छन्।











