काठमाडौँ – मध्यपूर्वमा चर्किएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व अन्त्यका लागि चीन र पाकिस्तानले संयुक्त रूपमा नयाँ कूटनीतिक पहल अघि बढाएका छन्। दुवै देशले तत्काल युद्धविराम, संवादको वातावरण सिर्जना र ‘स्ट्रेट अफ होर्मुज’ खुला राख्ने लगायतका पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्।
यो पहललाई अगाडि बढाउन पाकिस्तानका विदेशमन्त्री बेइजिङ पुगेपछि दुवै देशबीच छलफल तीव्र भएको बताइएको छ। चिनियाँ विदेश मन्त्रालयले द्वन्द्व समाधानका लागि समन्वित प्रयास भइरहेको जनाएको छ। सुरुवाती चरणमा निष्क्रिय देखिएको चीन अहिले युद्ध लम्बिँदै जाँदा सक्रिय भूमिकामा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ऊर्जा सुरक्षालाई ध्यानमा राख्दै चीनले यस विषयमा विशेष चासो देखाएको छ। चीनसँग पर्याप्त तेल भण्डारण भए पनि लामो समयसम्म युद्ध जारी रहे औद्योगिक क्षेत्रमा असर पर्ने चिन्ता बढेको छ। यसअघि सन् २०२३ मा साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध पुनःस्थापना गराउन सफल भएको चीन फेरि मध्यस्थकर्ताको भूमिकामा देखिएको छ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुईदेखि तीन हप्ताभित्र अमेरिका इरानबाट बाहिरिने संकेत दिएका छन्। तर त्यसका लागि इरानले दीर्घकालसम्म परमाणु हतियार विकास नगर्ने सुनिश्चितता आवश्यक रहेको उनको भनाइ छ। उनले अब युद्ध लम्ब्याउनु आवश्यक नरहेको पनि उल्लेख गरेका छन्।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने युद्ध अन्त्यको स्पष्ट समयसीमा नदिएको बताइएको छ। गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त आक्रमण थालेका थिए, जसपछि क्षेत्रीय तनाव झन् बढेको हो।
युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको छ। राष्ट्रपति ट्रम्पले भने अमेरिकी सैन्य अभियान अन्त्य भएसँगै तेलको मूल्य घट्ने दाबी गरेका छन्।











