रुपन्देहीमा ‘हेल्थ एट होम’ सेवा सुरु, घरमै पुगेर उपचार उपलब्ध हुने

रुपन्देही : स्वास्थ्य सेवामा नविनता थप्ने उद्देश्यका साथ ‘हेल्थ एट होम’ (घरमै स्वास्थ्य सेवा) कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ। एक विशेष समारोहबीच वरिष्ठ चिकित्सक डा. नन्दु पाठक ले रिबन काटेर उक्त सेवाको उद्घाटन गर्नुभएको हो।
उद्घाटन गर्दै डा. पाठकले स्वास्थ्य सेवा अब अस्पतालको चारदीवारीमा मात्र सीमित नरही बिरामीको घरदैलोमै पुग्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले ‘हेल्थ एट होम’ सेवा बिरामीमैत्री अवधारणामा आधारित रहेको बताउँदै यसले स्वास्थ्य सेवाको पहुँचलाई थप सरल, सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। “यो केवल सेवा मात्र होइन, स्वास्थ्य क्षेत्रमा सोचको परिवर्तन हो,” उहाँले भन्नुभयो, “विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी र अस्पतालसम्म पुग्न कठिनाइ हुने बिरामीका लागि यो पहल अत्यन्त महत्वपूर्ण हुनेछ।

कार्यक्रममा बोल्दै उहाँले आर्थिक रूपमा सक्षम वर्गका नागरिकले पनि सुविधा र सहजताको हिसाबले घरमै सेवा लिन चाहने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्नुभयो। यस्तो अवस्थामा ‘हेल्थ एट होम’ सेवा समयसापेक्ष र आवश्यक कदम भएको उहाँको भनाइ थियो।

करिब ७० लाख रुपैयाँको लगानीमा सुरु गरिएको यस सेवाले बिरामीलाई अनावश्यक रूपमा अस्पताल धाउनुपर्ने बाध्यता कम गर्ने लक्ष्य लिएको छ। सेवाका प्रबन्ध निर्देशक निरञ्जन पोखरेल का अनुसार नेपालमै व्यवस्थित ढंगले सञ्चालन गरिएको यो पहिलो ‘होम हेल्थ केयर’ सेवा हो। उहाँले विकसित देशहरूमा यस्तो सेवा अत्यन्त लोकप्रिय भइसकेको उदाहरण दिँदै नेपालमा पनि यसको व्यापक सम्भावना रहेको बताउनुभयो।

हामीले बिरामीलाई केन्द्रमा राखेर सेवा डिजाइन गरेका छौं,” पोखरेलले भन्नुभयो, “अब बिरामीले लाइन बस्नु, भीडभाड झेल्नु वा टाढा यात्रा गर्नुपर्ने झन्झट घट्नेछ।” उहाँका अनुसार सेवा विस्तारसँगै गुणस्तर, विश्वसनीयता र द्रुत प्रतिक्रिया प्रणालीलाई उच्च प्राथमिकता दिइनेछ।

सेवाका सञ्चालक मिम बहादुर सिंह ले ‘हेल्थ एट होम’ अन्तर्गत चिकित्सक तथा नर्सहरू बिरामीको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। साथै प्रयोगशाला परीक्षणका लागि आवश्यक नमुना घरमै संकलन गरिने, आवश्यक औषधि घरमै पुर्‍याइने तथा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परामर्श प्रदान गरिनेछ।
उहाँका अनुसार यस सेवामा आधुनिक स्वास्थ्य व्यवस्थापनका विभिन्न पक्षहरूलाई समेटिएको छ। “हामीले केवल सामान्य उपचार मात्र होइन, मानसिक स्वास्थ्य परामर्श, फिजियोथेरापी जस्ता अत्यावश्यक सेवाहरू पनि घरमै उपलब्ध गराउने व्यवस्था गरेका छौं,” सिंहले भन्नुभयो।

कार्यक्रममा सहभागी चिकित्सक डा. चन्द्र घिमिरेले   यस सेवाले स्थानीय नागरिकहरूलाई उपचार पाउनमा ठूलो सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यस्तो पहलले स्वास्थ्य असमानता घटाउन सहयोग पुग्ने बताउनुभयो।
डिजिटल प्रविधिको उपयोगलाई समेत प्राथमिकतामा राखिएको यस सेवामा अनलाइन अपोइन्टमेन्ट बुकिङ, भर्चुअल परामर्श तथा बिरामीको स्वास्थ्य अवस्थाबारे विदेशमा रहेका आफन्तले समेत जानकारी लिन सक्ने सुविधा उपलब्ध गराइएको छ। यसले आधुनिक जीवनशैली र प्रविधिसँग स्वास्थ्य सेवाको समायोजन गर्ने प्रयास गरिएको देखिन्छ।
हाल यो सेवा बुटवल, तिलोत्तमा र सैनामैना क्षेत्रमा सुरु गरिएको छ। आगामी दिनमा यसको सेवा दायरा विस्तार गर्दै अन्य जिल्लामा समेत पुर्‍याउने योजना रहेको सञ्चालकहरूले जनाएका छन्।

कार्यक्रमका सञ्चालक बिनोद पोख्रेल ले ‘हेल्थ एट होम’ सेवा स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुवात भएको बताउँदै यसले सेवाग्राहीको विश्वास जित्दै दीर्घकालीन रूपमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

समग्रमा, ‘हेल्थ एट होम’ सेवा नेपालको स्वास्थ्य क्षेत्रमा एक नवीन अभ्यासका रूपमा उदाएको छ, जसले बिरामीलाई केन्द्रमा राख्दै सेवा प्रवाहको शैलीमै परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। घरमै उपचार, सहज पहुँच, प्रविधिको प्रयोग र गुणस्तरीय सेवाको संयोजनले यो कार्यक्रम आगामी दिनमा स्वास्थ्य सेवाको महत्वपूर्ण विकल्प बन्ने संकेत देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation