काठमाडौँ । गत अप्रिलमा इजरायल, इरान र अमेरिकाबीच भएको युद्धविराम सम्झौतापछि पहिलो पटक इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले यसलाई “एक हप्तासम्म चल्ने निरन्तर प्रहारको सुरुवात” भएको दाबी गरेको छ।
इजरायली सेनाका अनुसार इरानबाट प्रहार गरिएका अधिकांश मिसाइलहरू देशको उत्तरी क्षेत्रको आकाशमै अवरोध (इन्टरसेप्ट) गरिएको छ। हालसम्म कुनै मानवीय क्षति भएको विवरण सार्वजनिक गरिएको छैन।
आइतबार बिहान इजरायलले लेबनानको राजधानी बेरुतस्थित हिजबुल्लाहका ठेगानाहरूमा हवाई आक्रमण गरेपछि इरानले कडा प्रतिक्रिया दिने चेतावनी दिएको थियो। त्यसको केही समयपछि इरानले मिसाइल आक्रमण सुरु गरेको हो।
इरानी आक्रमणपछि इजरायलले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गाजा प्रवेश गर्ने सबै नाकाहरू बन्द गरेको छ। अर्को सूचना जारी नभएसम्म केरेम शालोम र रफाहसहितका सबै प्रमुख नाकाहरू बन्द रहने जनाइएको छ।
यस घटनापछि मध्यपूर्वमा पुनः व्यापक युद्ध चर्किने चिन्ता बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आक्रमण रोक्न र वार्ताको टेबुलमा फर्कन आग्रह गरेका छन्। अबको अवस्था इजरायलको जवाफी कदममा निर्भर रहने अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।











