काठमाडौं, जेठ २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा, पालिका र जिल्ला तहका अधिवेशन सम्पन्न गरेपछि आजदेखि प्रदेश अधिवेशन सुरु गरेको छ। पहिलो चरणमा बागमती प्रदेशको अधिवेशन प्रदेश राजधानी हेटौंडामा सुरु भएको हो।
हेटौंडास्थित हिमालयन दरबारमा आयोजित अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ। पार्टीले प्रदेशस्तरीय संगठनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ अधिवेशनलाई विशेष महत्व दिएको जनाएको छ।
बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। वर्तमान प्रदेश सभापति डा. अच्युत्तम लामिछाने पुनः सोही पदमा निर्वाचित हुने तयारीमा छन्। उनले प्रदेश संगठनलाई अझ प्रभावकारी ढंगले अघि बढाउन आफू पुनः नेतृत्वमा रहन इच्छुक रहेको बताएका छन्।
सभापति पदका अर्का आकांक्षी उत्सव अर्याल हुन्। हाल प्रदेश प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका अर्यालले पनि नेतृत्वका लागि दाबी प्रस्तुत गरेका छन्। दुवै पक्षले आफ्ना-आफ्ना प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरिरहेको बताइएको छ।
उपसभापति पदका लागि डा. रमेश ढकाल र मेनुका ठकुरीको नाम चर्चामा रहेको छ भने वर्तमान महामन्त्री सुरेन्द्र भट्ट पुनः सोही पदमा दोहोरिन चाहेका छन्। अन्य पदमा समेत आकांक्षीहरूको संख्या बढेकाले निर्वाचन हुने सम्भावना बलियो देखिएको छ।
रास्वपाको विधानअनुसार बागमती प्रदेश समितिमा ६५ सदस्य रहने व्यवस्था छ। सभापति, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्तासहित पदाधिकारी चयन गरिनेछ। सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष हुनुपर्ने प्रावधान रहेको छ।
निर्वाचन आवश्यक परे दुई चरणमा मतदान हुने व्यवस्था गरिएको छ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ। त्यसपछि निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान गरिनेछ।
रास्वपाले बागमतीपछि अन्य प्रदेशका अधिवेशन पनि क्रमशः सञ्चालन गर्ने जनाएको छ। प्रदेश अधिवेशनहरू सम्पन्न भएपछि पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा आयोजना हुने कार्यक्रम रहेको छ। उक्त महाधिवेशनलाई पार्टीको संगठन विस्तार र भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।











