सरकार विस्तारः गृहमन्त्रीमा सुधन, विज्ञान मन्त्रीमा महावीर

काठमाडौं, जेठ २६ : प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै गृह मन्त्रालयको जिम्मेवारीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा महावीर पुन लाई नियुक्त गरेका छन्।
नवनियुक्त मन्त्रीद्वयले मंगलबार रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।
गोरखा–१ बाट निर्वाचित रास्वपा सांसद गुरुङ यसअघि पनि गृहमन्त्री रहिसकेका छन्। सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। तर सरकारी छानबिन समितिबाट सफाइ पाएपछि उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्।

त्यस्तै म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद पुन यसअघि पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा काम गरिसकेका छन्। निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका पुन अब विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।
नयाँ मन्त्रीहरूको नियुक्तिसँगै सरकारले प्रशासनिक तथा प्रविधि क्षेत्रका प्राथमिकताहरूलाई अघि बढाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation