आफ्नै सुन पसलमा चोरीको नाटक रच्ने तिनाउ सुनचाँदीका सञ्चालक दिपक बि.क. पक्राउ

 

रुपन्देहीको बुटवल–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको करोडौँ रुपैयाँ बराबरको चोरी प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको छ। प्रहरी अनुसन्धानबाट पसलका सञ्चालक र कर्मचारीले नै योजनाबद्ध रूपमा चोरीको नाटक रचेको खुलासा भएको छ।
पसल सञ्चालक दिपक बि.क. र कर्मचारी नविन बि.क.ले पसलको सटरको साँचो तोडेर चोर भित्र प्रवेश गरेको, सेफ फुटाएर करिब १ करोड ४७ लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
तर घटनाको विस्तृत अनुसन्धानका क्रममा उक्त चोरी वास्तविक नभई बिमा रकम प्राप्त गर्ने उद्देश्यले रचिएको नाटक भएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले सञ्चालक दिपक बि.क.को घरबाट ५ तोला ४.१ लाल सुन तथा १४ केजी ३०० ग्राम चाँदीका सिक्का, दाना र ढिक्का बरामद गरेको छ।
घटनामा संलग्न रहेको आरोपमा सञ्चालक र कर्मचारीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation