मेसीको गोल, अर्जेन्टिनाको विजयी यात्रा कायम

काठमाडौं, असार २० : साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ मा केप भर्डेलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
मियामी स्टेडियममा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल फर्काउँदै केप भर्डेलाई बराबरीमा ल्याए।
अतिरिक्त समयको दोस्रो मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केप भर्डेलाई दोस्रोपटक बराबरीमा फर्काए।

खेल अतिरिक्त समयमा बराबरीतर्फ अघि बढिरहेका बेला १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाको जितको आधार बन्यो।
नवप्रवेशी केप भर्डेले साविक विजेताविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन।
यस जितसँगै अर्जेन्टिना अन्तिम १६ मा पुगेको छ, जहाँ उसले क्वार्टरफाइनल प्रवेशका लागि इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation