खामेनीको अन्त्येष्टिमा विश्वको ध्यान तेहरानमा, इरानले दियो कडा राजनीतिक सन्देश

तेहरान, असार २० : इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सातदिने अन्त्येष्टि कार्यक्रम शुक्रबारदेखि तेहरानमा सुरु भएको छ। अमेरिकी–इजरायली संयुक्त हवाई आक्रमणमा गत फेब्रुअरी २८ मा मृत्यु भएका खामेनीप्रति श्रद्धाञ्जली अर्पण गर्न विश्वका एक सयभन्दा बढी मुलुकका राष्ट्रप्रमुख तथा उच्चस्तरीय कूटनीतिक प्रतिनिधिहरू तेहरान पुगेका छन्।
अन्त्येष्टि समारोहमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ, सेनाप्रमुख आसिम मुनिर, साउदी अरेबियाका उपपरराष्ट्रमन्त्री वालिद अल–खुरैजी तथा अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीलगायत सहभागी भएका छन्। खामेनीसँगै आक्रमणमा ज्यान गुमाएका उनका परिवारका सदस्यहरूको शव पनि श्रद्धाञ्जलीका लागि राखिएको छ। विभिन्न धार्मिक सहर हुँदै आगामी जुलाई ९ मा उनको जन्मस्थान मशहदमा अन्तिम संस्कार गरिने कार्यक्रम छ।
शोक समारोहसँगै इरानी नेतृत्वले अमेरिका र इजरायलप्रति कडा चेतावनी दोहोर्‍याएको छ। इरानी संसद्का सभामुख मोहम्मद बगेर गालिबाफले युद्धविराम तथा अन्य प्रतिबद्धता कार्यान्वयन नभए इरानले पुनः जवाफी कदम चाल्ने बताएका छन्।
इरानी सशस्त्र बलका कमान्डर–इन–चिफ मेजर जनरल अमिर हातामीले पनि खामेनीको हत्याको बदला लिने अडान दोहोर्‍याउँदै इरान आफ्नो सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे।
राजनीतिक विश्लेषकहरूका अनुसार खामेनीमाथिको आक्रमणपछि इरानभित्र राष्ट्रिय एकताको भावना बलियो बनेको छ। सेन्टर फर मिडल इस्ट स्ट्रेटेजिक स्टडिजका वरिष्ठ अनुसन्धानकर्ता अबास असलानीका अनुसार बाह्य दबाबले सरकार कमजोर हुने अपेक्षा गरिए पनि त्यसको उल्टो राष्ट्रिय एकता थप मजबुत भएको देखिएको छ।
यद्यपि सबै नागरिक भने सरकारी गतिविधिप्रति सन्तुष्ट छैनन्। आर्थिक संकट गहिरिँदै गएको अवस्थामा भव्य अन्त्येष्टि समारोहमा ठूलो खर्च गरिएको भन्दै केही सर्वसाधारणले असन्तुष्टि जनाएका छन्।

यसैबीच, हर्मुज जलडमरु हुँदै व्यापारिक जहाजको आवागमन केही सहज बन्दै गएको भए पनि दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न अमेरिका–इरानबीच स्थायी समझदारी आवश्यक रहेको सैन्य विश्लेषकहरूको भनाइ छ। उता इजरायलले लेबनान र गाजामा युद्धविरामका बाबजुद आक्रमण जारी राखेको आरोपसमेत लगाइएको छ, जसका कारण मानवीय संकट थप गहिरिँदै गएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation