भैरहवा भन्सारमा संयुक्त स्वीप अपरेसन, चार जना पक्राउ

भैरहवा, असार २२ रुपन्देहीको भैरहवा भन्सार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सञ्चालन गरेको डग स्निफिङसहितको विशेष ‘स्वीप अपरेसन’का क्रममा चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार यात्रु शाखामा यात्रुलाई अनावश्यक हैरानी दिइरहेका व्यक्तिहरूमाथि निगरानीका क्रममा उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, महाराजगन्ज निवासी २१ वर्षीय राज पाल रहेका छन्। उनको साथबाट भारतीय रुपैयाँ ४ हजार ८५०, नेपाली रुपैयाँ ४०० र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, उत्तर प्रदेशको कुशीनगर निवासी २२ वर्षीय सजित अन्सारी र २१ वर्षीय विपिन कुशवाहालाई भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ। साथै, उत्तर प्रदेशको गोरखपुर इटहिया निवासी २५ वर्षीय अमित यादवलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक चन्द्रकेश साहका अनुसार भन्सार क्षेत्रको सुरक्षा सुदृढ बनाउन तथा सीमावर्ती क्षेत्रमा हुने शंकास्पद गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियमित रूपमा स्वीप अपरेसन सञ्चालन गर्दै आएको छ।
प्रहरीले नियन्त्रणमा लिइएका चारै जनामाथि आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation