पानी परेसँगै डेङ्गीको जोखिम बढ्दो, सतर्कता अपनाउन स्वास्थ्य विज्ञको आग्रह

रुपन्देही , असार २२:मनसुन सक्रिय भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख गोकर्णप्रसाद दाहालका अनुसार वर्षाका कारण विभिन्न स्थानमा पानी जम्न थालेपछि डेङ्गी सार्ने लामखुट्टेको प्रजनन बढ्ने भएकाले संक्रमण फैलिने सम्भावना उच्च हुन्छ।

उनले केही दिनयता निरन्तर वर्षा भइरहेकाले सडक, घर वरपरका खाल्डाखुल्डी तथा अन्य स्थानमा पानी जम्न नदिन आग्रह गर्दै डेङ्गीबाट बच्न नियमित सरसफाइ, सुत्दा झुलको प्रयोग तथा लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउन सुझाव दिएका छन्।
महाशाखाका अनुसार असार ९ देखि १५ गतेसम्म देशभर ६३ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। मनसुन सुरु भएसँगै संक्रमण बढ्न सक्ने भएकाले स्थानीय तह र सर्वसाधारण दुवैले रोकथामका उपायमा ध्यान दिनुपर्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

डा. दाहालका अनुसार डेङ्गीको जोखिम विशेषगरी असारदेखि कात्तिकसम्म रहने गर्दछ। सफा पानी जम्ने स्थानमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले अण्डा पार्ने भएकाले घर–आँगन तथा वरपर पानी जम्न नदिनु नै डेङ्गी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो।

स्वास्थ्य विज्ञहरूले डेङ्गीको जोखिम न्यूनीकरणका लागि घर वरिपरि पानी जम्न नदिने, वातावरण सफा राख्ने, लामखुट्टेको टोकाइबाट जोगिने र ज्वरोलगायत डेङ्गीका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation