देवरको खुकुरी प्रहारबाट भाउजूको हत्या, ठूलोबुबा घाइते

मोरङ — मोरङको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीको उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा ४७ वर्षीय शिवलाल खवास (ठूलोबुबा) पनि घाइते भएका छन्। उनको दाहिने काँधमा गहिरो चोट लागेको छ। उनको स्थानीय नेता चोकस्थित मेडिकलमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैंचा तथा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग गरिएको खुकुरीसहित आरोपित सौचन खवासलाई नियन्त्रणमा लिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation