काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ सम्पन्न भएको छ। सुनुवाइ सकिएसँगै न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला लेखन प्रक्रिया अघि बढाएको छ भने आजै फैसला सुनाइने तयारी गरिएको अदालतले जनाएको छ।
अदालतका सूचना अधिकारीका अनुसार फैसला आजै आउने सम्भावना रहेको छ। गत जेठ २७ गतेदेखि सुरु भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखेर निरन्तर बहस गरिएको थियो।
यस मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत पूर्वमन्त्री, बहालवाला सचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, निजी सचिव तथा अन्य उच्चपदस्थ व्यक्तिहरू प्रतिवादीका रूपमा रहेका छन्। रायमाझी हाल पुर्पक्षका लागि थुनामा छन् भने खाण धरौटीमा रिहा भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयले विभिन्न चरणमा दायर गरेका तीनवटा मुद्दालाई अदालतले एकीकृत गरी सुनुवाइ गरेको हो। अभियोगपत्रअनुसार नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका रूपमा प्रस्तुत गरी अमेरिका पुनर्वासको प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरिएको आरोप छ। साथै गृह मन्त्रालयसँगको मिलेमतोमा शरणार्थीको सूचीमा नेपाली नागरिकको नाम समावेश गराइदिने आश्वासनसहित संगठित रूपमा ठगी गरिएको अभियोजन पक्षको दाबी छ।
अभियोजन पक्षले प्रतिवादीहरूविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी अभियोगमा सजायको माग गरेको छ। यस प्रकरणको फैसला उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको कानुनी भविष्यसँगै बहुचर्चित शरणार्थी घोटालाको न्यायिक निष्कर्षका रूपमा हेरिएको छ।
फैसलाको प्रतीक्षामा प्रतिवादीका आफन्त, शुभेच्छुक तथा सरोकारवालाहरू अदालत परिसरमा जम्मा भएका छन्।











