ट्रेड युनियनका भवन खाली गर्न मन्त्रालयको अल्टिमेटम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी स्वामित्वको जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनका भवन तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
मन्त्रालयका अनुसार नेपाल सरकारले निजामती कर्मचारी ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेपछि सरकारी जग्गामा निर्माण गरी प्रयोग गरिएका ती भवन तथा संरचनाको कानुनी आधार समाप्त भएको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार सम्बन्धित ट्रेड युनियनहरूको दर्ता पनि श्रम तथा व्यावसायजन्य सुरक्षा विभागबाट खारेज भइसकेको मन्त्रालयले जनाएको छ।
जारी सूचनाअनुसार सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी आवश्यक कागजात, सम्पत्ति तथा भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनुपर्नेछ। तोकिएको समयसीमा पालना नगरे प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने मन्त्रालयले चेतावनी दिएको छ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालयको रोहबरमा सम्बन्धित भवनहरूमा सूचना टाँस गरिएको जनाएको छ।
सरकारी जग्गामा रहेका स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाललगायतका संगठनले प्रयोग गर्दै आएका भवन तथा संरचना खाली गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation