८ जना पक्राउ, ६ मोटरसाइकल, २ स्कुटर, सुनका गरगहना र प्रिन्टर बरामद
शंकर प्रसाद पोख्रेल ,रुपन्देही असार ,२४
बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवल र आसपासका क्षेत्रमा भएका चोरी, लुटपाट तथा भारतबाट चोरीका मोटरसाइकल नेपाल ल्याई नक्कली नम्बर प्लेट र सवारी दर्ता किताब (ब्लुबुक) तयार गरी बिक्री–वितरण गर्ने गिरोहविरुद्ध विशेष अभियान सञ्चालन गर्दै आठ जनालाई पक्राउ गरेको छ। घटनामा प्रयोग भएका तथा चोरी गरिएका सवारीसाधन, सुनका गरगहना र नक्कली कागजात तयार गर्न प्रयोग हुने उपकरणसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित द कन्सेप्ट क्लब अगाडि सडकमा हिँडिरहेका १८ वर्षीय गिरीराज राना र २३ वर्षीय सुन्दर बगालेलाई धारिलो हतियार देखाई हेल्मेटले प्रहार गरी गम्भीर घाइते बनाउँदै फरार भएका बुटवल–११ का २९ वर्षीय सुमित गुरुङको खोजीका क्रममा उनी दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए। उनलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुमित गुरुङ यसअघि पनि कर्तव्य ज्यान मुद्दामा आठ वर्ष कैद सजाय भुक्तान गरी २०८० साल असोजमा कारागारबाट छुटेका व्यक्ति हुन्।
यसैबीच, भारतबाट चोरी गरिएका मोटरसाइकल नेपाल ल्याई नेपाली नम्बर प्लेट जडान गर्ने, नक्कली सवारी दर्ता किताब तयार गरी बिक्री गर्ने गिरोह सक्रिय रहेको गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धानका क्रममा प्रहरीले विभिन्न स्थानमा खानतलासी गरेको थियो। त्यस क्रममा ६ वटा मोटरसाइकल, २ वटा स्कुटर, एक थान ल्यापटप र एक थान रंगीन प्रिन्टर बरामद गरिएको छ।
यस प्रकरणमा पक्राउ पर्नेहरूमा पाल्पा तानसेन नगरपालिका–८ घर भई हाल बुटवल उपमहानगरपालिका–११ बस्ने २९ वर्षीय अशोक सारु, बुटवल–१५ का २९ वर्षीय सरोज उपाध्याय, बुटवल–१३ का ३६ वर्षीय महेन्द्र गुरुङ तथा बुटवल–११ का २७ वर्षीय विकास केसी रहेका छन्।
प्रहरीका अनुसार महेन्द्र गुरुङविरुद्ध यसअघि लागूऔषध मुद्दामा पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय भुक्तान गरिसकेको अभिलेख रहेको छ। त्यस्तै विकास केसी सार्वजनिक अपराध मुद्दामा एक हजार रुपैयाँ जरिवाना तिरी छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
यता, सुनका गरगहना (सिक्री र पेन्डेन्ट) चोरी गरी फरार भएको उजुरी र सीसीटीभी फुटेजका आधारमा गरिएको अनुसन्धानका क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ शान्तिचोकबाट घटनामा प्रयोग भएको लु ६५ प २१२१ नम्बरको मोटरसाइकल तथा चोरी भएका दुई थान सुनका सिक्री बरामद गरिएको छ।
यस घटनामा भारत उत्तर प्रदेश गोरखपुरका ३२ वर्षीय राहुल जयसवाल, उत्तर प्रदेश महाराजगञ्जका २२ वर्षीय प्रिन्स जयसवाल, भारत बिहारको वाल्मीकिनगरका २८ वर्षीय नितेश कुमार गुप्ता तथा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ का ३२ वर्षीय प्रदीप कान्दु बनियाँ पक्राउ परेका छन्।
प्रदीप कान्दु बनियाँ यसअघि पनि चोरीसम्बन्धी मुद्दामा दोषी ठहर भई ५० हजार रुपैयाँ जरिवाना तिरी छुटेका व्यक्ति रहेको प्रहरी अभिलेखमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ परेका सबै आरोपितविरुद्ध चोरी, लिखत तथा अन्य सम्बन्धित कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको छ।












