
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संघीयताको विरोधमा आगामी चैत्र २४ गतेदेखि सुरु हुने राजधानी केन्द्रित आन्दोलनको तयारीस्वरूप जिल्लाभरका २७ स्थानमा सभा गर्ने निर्णय गरेको छ। सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले यसबारे जानकारी दिएका हुन्।
अध्यक्ष केसीका अनुसार राजधानी केन्द्रित आन्दोलनलाई सफल बनाउन सांगठनिक, प्रचारात्मक, र आर्थिक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। संघीयता लागू भएयता जनमोर्चा यसको विरोधमा रहँदै आएको उल्लेख गर्दै उनले संघीयता नेपालको राजनैतिक, ऐतिहासिक, धार्मिक, आर्थिक, सांस्कृतिक, भौगोलिक र भू-राजनीतिक पक्षबाट उपयुक्त नभएको तर्क गर्दै संघीयता खारेजीको माग राख्दै आएको बताए।
आन्दोलनको तयारीस्वरूप अर्घाखाँचीका सबै पालिकामा संघर्ष समिति गठन गरिएको छ। यी समितिहरूले आफ्ना पालिकामा जनशक्ति तयारी, संगठन निर्माण, आर्थिक संकलन, भेटघाट, र प्रचारप्रसारजस्ता कार्यहरू सञ्चालन गर्ने जिम्मेवारी पाएका छन्।
जनमोर्चा अर्घाखाँचीले मालारानी गाउँपालिकामा ४, पाणिनी गाउँपालिकामा ३, शीतगंगा नगरपालिकामा ४, सन्धिखर्क नगरपालिकामा ८, भूमिकास्थान नगरपालिकामा ५, र छत्रदेव गाउँपालिकामा ३ स्थानमा सभा आयोजना गर्ने जनाएको छ। यी सभाहरूमा केन्द्रीय, प्रदेश, र जिल्लास्तरीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
अध्यक्ष केसीले आन्दोलनलाई प्रभावकारी बनाउन व्यापक तयारी भइरहेको जानकारी दिँदै जिल्लावासीलाई आन्दोलनमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्।