नेपालमा मनसुन भित्रियो, यस वर्ष कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान

काठमाडौं, असार ५ । नेपालमा यस वर्षको मनसुन प्रणाली औसत मितिभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार कोशी प्रदेशको केही भूभागबाट मनसुन नेपाल भित्रिएको हो।
महाशाखाका अनुसार नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ भए पनि यस वर्ष मनसुन जुन १९ मा प्रवेश गरेको छ। गत वर्ष भने मनसुन औसतभन्दा १५ दिनअघि नै नेपाल भित्रिएको थियो।
हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले देशका अन्य भागमा यसको प्रभाव विस्तार हुन केही दिन लाग्ने अनुमान गरिएको छ। अहिले कोशी प्रदेशका पूर्वी तराई तथा हिमाली क्षेत्रका सीमित भूभागमा मात्र मनसुनको प्रभाव देखिएको छ। मौसमविद्हरूका अनुसार आगामी दिनमा मनसुन क्रमशः सक्रिय बन्दै देशका अन्य क्षेत्रमा फैलिनेछ।
महाशाखाले यस वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान गरेको छ। यद्यपि कम वर्षा भए पनि विपद्को जोखिम नघट्ने विज्ञहरूको भनाइ छ। छोटो समयमै अत्यधिक वर्षा, तापक्रम वृद्धि तथा पानीको अभावजस्ता कारणले मनसुन थप चुनौतीपूर्ण बन्न सक्ने चेतावनी दिइएको छ।
यसैबीच, नेपालमा यस वर्षको प्रि–मनसुन सिजन (मार्च–मे) मा विगत ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको तथ्य सार्वजनिक भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस अवधिमा औसत ३३९.७७ मिलिमिटर वर्षा भएको छ, जुन सामान्य औसतभन्दा करिब डेढ गुणा बढी हो।
विभागले सन् १९८१ देखि १२६ वटा वर्षा मापन केन्द्रको तथ्यांक विश्लेषण गर्दै आएको छ। यसअघि सन् १९९० मा ३३१.४० मिलिमिटर वर्षा भएको रेकर्ड रहेकोमा यस वर्ष उक्त रेकर्ड समेत तोडिएको छ।
महाशाखाले मौसमको निरन्तर निगरानी भइरहेको जनाएको छ। साथै सर्वसाधारण तथा सम्बन्धित निकायलाई नियमित रूपमा तीन दिने मौसम बुलेटिन तथा अद्यावधिक मौसम सूचनामा ध्यान दिन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation