सुदृढ विशेषाधिकार समिति बिना सशक्त प्रदेश सभा सम्भव छैन, गिरधारीलाल न्यौपाने

शंकर प्रसाद पोख्रेल

दाङ, असार ३ बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको पहिलो राष्ट्रिय सम्मेलन दाङको देउखुरीस्थित राप्ती उपत्यकामा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलनले सात बुँदे ‘लुम्बिनी घोषणा पत्र–२०८३’ जारी गर्दै समापन भएको हो।
लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा असार २ र ३ गते सम्पन्न सम्मेलनमा प्रदेश सभाहरूबीच विशेषाधिकार सम्बन्धी अवधारणा, अभ्यास र कार्यप्रणालीलाई थप प्रभावकारी तथा समन्वयात्मक बनाउने विषयमा व्यापक छलफल भएको थियो।

सम्मेलनमा नेपालको अन्तरिम संविधान मस्यौदा समितिका सदस्य, पूर्व संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता डा. खिमलाल देवकोटाले विज्ञका रूपमा सहभागी भई संसदीय विशेषाधिकारका अन्तर्राष्ट्रिय अभ्यास, संवैधानिक व्यवस्था तथा नेपाली सन्दर्भका विषयमा आफ्नो धारणा राख्नुभएको थियो।
सम्मेलनको उद्घाटन सत्रमा लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपानेले अवधारणा पत्र प्रस्तुत गर्दै संघीय शासन प्रणालीमा प्रदेश सभाहरूको भूमिका, अधिकार तथा विशेषाधिकारको संरक्षणका लागि साझा दृष्टिकोण आवश्यक रहेको बताउनुभयो।

सम्मेलनले जारी गरेको ‘लुम्बिनी घोषणा पत्र–२०८३’ मा प्रदेश सभाको स्वायत्तता र मर्यादाको संरक्षण गर्दै संसदीय विशेषाधिकारको सम्मान र नागरिकको विश्वास अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै व्यवस्थापिकाको निर्देशन, निगरानी तथा खबरदारीप्रति कार्यपालिका पर्याप्त गम्भीर नहुँदा संसद र सांसदहरूको विशेषाधिकार प्रभावित भएको विषयमा सम्मेलनले गम्भीर ध्यानाकर्षण जनाएको छ।

घोषणापत्रमा नेपालको सार्वभौमसत्ता, राष्ट्रियता र अखण्डताप्रति संवेदनशील र जिम्मेवार बन्न सबै पक्षलाई आह्वान गरिएको छ। त्यस्तै प्रदेश सभाका विशेषाधिकार समितिहरूबीच समन्वय र सहकार्यलाई संस्थागत गर्दै अनुभव आदान–प्रदानका लागि ‘समन्वय समिति’ गठन गर्ने निर्णयसमेत गरिएको छ।
सम्मेलनले नेपालको संविधानको धारा १८७(९) बमोजिम प्रत्येक प्रदेश सभामा विशेषाधिकार सम्बन्धी कानुन तर्जुमा गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ। आगामी राष्ट्रिय सम्मेलन सुदूरपश्चिम प्रदेश सभाको विशेषाधिकार समितिले आयोजना गर्ने निर्णय पनि गरिएको छ।

“सुदृढ विशेषाधिकार समिति, सशक्त प्रदेश सभा र सबल लोकतन्त्र” भन्ने साझा प्रतिबद्धतासहित सम्पन्न सम्मेलनको समापनमा सभापति गिरधारीलाल न्यौपानेले सम्मेलन सफल बनाउन सहयोग पुर्‍याउने मुख्यमन्त्री, सभामुख, उपसभामुख, विभिन्न प्रदेशका सभापति, सदस्य, कर्मचारी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्नुभयो।

घोषणापत्रमा लुम्बिनी प्रदेश सभाका विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपाने, सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तुलसी देवकोटा तथा बागमती प्रदेश सभाका विशेषाधिकार समितिका सभापति मायोदेवी शर्माले हस्ताक्षर गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation