मध्यपूर्वमा शान्तिको संकेत, इरान,अमेरिकाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, असार ४ । महिनौँदेखि चर्किँदै गएको इरान,अमेरिका तनावलाई अन्त्य गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। दुवै देशका राष्ट्रपतिले युद्ध र वैमनस्यता अन्त्य गर्ने उद्देश्यसहित तयार पारिएको समझदारीपत्रमा हस्ताक्षर गरेसँगै कूटनीतिक समाधानको नयाँ ढोका खुलेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानले डिजिटल माध्यमबाट समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। दुवै सरकारका अधिकारीहरूले हस्ताक्षर सम्पन्न भएको पुष्टि गर्दै आगामी चरणका वार्ताहरूलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको बताएका छन्।
सम्झौतापछि अब आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रम, अन्तर्राष्ट्रिय प्रतिबन्ध र आर्थिक पुनरुत्थानका विषयमा विस्तृत छलफल हुनेछ। यस अवधिमा दुवै पक्षले आपसी विश्वास निर्माण र विवादित विषयहरूको समाधान खोज्ने प्रयास गर्ने जनाइएको छ।

सम्झौताको महत्वपूर्ण पक्षका रूपमा इरानको पूर्वाधार पुनर्निर्माण तथा अर्थतन्त्रलाई पुनर्जीवित गर्न ३०० अर्ब अमेरिकी डलर बराबरको कोष स्थापना गर्ने प्रस्ताव अघि सारिएको छ। क्षेत्रीय साझेदार राष्ट्रहरूको लगानीबाट उक्त कोष सञ्चालन गरिने बताइएको छ।
इरानले विदेशमा रोक्का गरिएका आफ्ना सम्पत्तिमाथि पहुँच पुनः प्राप्त गर्ने अपेक्षा व्यक्त गरेको छ भने अमेरिकाले पनि कूटनीतिक प्रक्रियामार्फत समाधान खोज्न इच्छुक रहेको संकेत दिएको छ।

यद्यपि इरानको मिसाइल तथा प्रतिरक्षा प्रणालीबारे कुनै सहमति भएको छैन। इरानले आफ्नो राष्ट्रिय सुरक्षासँग जोडिएका विषय वार्ताको दायराभन्दा बाहिर रहने स्पष्ट पारेको छ।
सम्झौतापछि दुवै देशले युद्धभन्दा संवादलाई प्राथमिकता दिने संकेत दिएका छन्। यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले सहमतिका सर्तहरू कार्यान्वयन नभए थप कडा कदम चाल्न सकिने चेतावनी दिएका छन्।
विश्लेषकहरूका अनुसार यो सहमतिले केवल इरान–अमेरिका सम्बन्धमा मात्र होइन, सम्पूर्ण मध्यपूर्वको राजनीतिक र सुरक्षा अवस्थामै नयाँ मोड ल्याउन सक्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation