अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा चेतावनी दिएपछि मध्यपूर्वमा तनाव नयाँ उचाइमा पुगेको छ। इरानमा जारी सरकारविरोधी आन्दोलन, अमेरिकी धम्की र त्यसबीच रुसबाट इरानमा परमाणु वारहेड पुगेको चर्चाले अन्तर्राष्ट्रिय राजनीति थप संवेदनशील बनेको छ।
इरानमा महँगीविरुद्ध सुरु भएको आन्दोलन पछिल्लो समय हिंसात्मक बन्दै गएको छ। प्रदर्शनका क्रममा सरकारी संरचना, सवारी साधन र धार्मिक स्थलमा आगजनीका घटना भएका छन्। आन्दोलन दबाउन सरकारले कडा दमन गरेको आरोप लाग्दै आएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म ६ सयभन्दा बढीको ज्यान गएको दाबी गरिएको छ भने हजारौँ पक्राउ परेका छन्, यद्यपि इरान सरकारले आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन।
यसैबीच अमेरिकी गुप्तचर संस्था सीआईए र इजरायली गुप्तचर मोसाद इरानमा सत्ता परिवर्तनको प्रयासमा संलग्न रहेको आरोप पनि तेहरानले लगाएको छ। इरानी अधिकारीहरूका अनुसार प्रदर्शनका क्रममा भएको धेरै हत्या सुरक्षाकर्मीबाट नभई ‘प्रशिक्षित समूह’बाट भएको फोरेन्सिक प्रमाण रहेको दाबी गरिएको छ।
अमेरिकाले इरानमाथि सैन्य कारबाहीको संकेत गरेपछि इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनेईका सल्लाहकारले कडा प्रतिक्रिया दिएका छन्। उनले आवश्यक परे २४ घन्टाभित्र परमाणु बम तयार गर्न सकिने र आक्रमण भएमा अमेरिका तथा इजरायललाई प्रतिआक्रमण गरिने चेतावनी दिएका छन्। यस अभिव्यक्तिले विश्व समुदायलाई झस्काएको छ।
यही समयमा रुसले इरानलाई केही फाइटर जेट उपलब्ध गराएको र ती विमान परमाणु वारहेड बोक्न सक्षम हुनसक्ने चर्चा चलेको छ। यसलाई इरानले परमाणु हतियार हासिल गर्ने तयारी गरिरहेको संकेतका रूपमा हेरिएको छ। यद्यपि इरानले प्रत्यक्ष रूपमा परमाणु हतियार भएको स्वीकार भने गरेको छैन।
इरानभित्र आन्दोलन चलिरहेकै बेला खामेनेईका समर्थकहरू ठूलो संख्यामा सडकमा उत्रिँदै सरकारप्रति समर्थन जनाएका छन्। उनीहरूले आन्तरिक असन्तुष्टि भए पनि अमेरिका र इजरायलको हस्तक्षेप अस्वीकार्य हुने सन्देश दिएका छन्।
यसैबीच इरानमा इन्टरनेट र सञ्चार सेवा बन्द गरिएको छ। प्रदर्शनकारीहरूले एलन मस्कको स्टारलिंक इन्टरनेट प्रयोग गर्न थालेपछि सरकारले त्यसलाई पनि जाम गरेको बताइएको छ। प्रविधिविज्ञहरूका अनुसार यो काम रुस वा चीनको सहयोगमा गरिएको हुनसक्ने अनुमान गरिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पको नीति भने दोधारपूर्ण देखिएको छ। एकातिर उनले सैन्य कारबाहीको धम्की दिएका छन् भने अर्कोतिर वार्ताका लागि तयार रहेको बताएका छन्। तर वार्ताको संकेत दिएको भोलिपल्टै इरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाइनु र अमेरिकी नागरिकका लागि सुरक्षा चेतावनी जारी गर्नुले तनाव कम नभएको स्पष्ट देखिन्छ।
चीन र रुस दुवैले इरानमाथि बाह्य हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट संकेत दिइसकेका छन्। यदि इरानमाथि आक्रमण भयो भने त्यसले केवल अमेरिका–इरान द्वन्द्वमा सीमित नरही विश्व शक्तिहरूबीच दीर्घकालीन संघर्षको जोखिम बढाउने विश्लेषकहरूको भनाइ छ।
इरान विश्वका शक्तिशाली सैन्य राष्ट्रमध्ये एक भएकाले उसमाथि आक्रमण भेनेजुएलाजस्तो सहज नहुने आँकलन गरिएको छ। यस्तो अवस्थामा इरान संकटले मध्यपूर्व मात्र होइन, विश्व राजनीतिक सन्तुलनमै गहिरो असर पार्ने देखिएको छ।
एजेन्सीको सहयोगमा
शिलापत्र।











