राष्ट्रपतिको हैसियतमा अदालत पुगे मदुरो भने ‘म युद्धबन्दी हुँ’

न्युयोर्क।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अमेरिकी संघीय अदालतमा पहिलोपटक उपस्थित भएका छन्। न्युयोर्क सिटीस्थित संघीय अदालतमा सोमबार करिब ४० मिनेट चलेको सुनुवाइका क्रममा मदुरोले आफूलाई अपहरण गरिएको र युद्धबन्दीको हैसियतमा राखिएको दाबी गरेका छन्।
सुनुवाइका बेला मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसले आफूहरूमाथि लगाइएका लागुऔषध तस्करी र हतियारसम्बन्धी सबै आरोप अस्वीकार गर्दै निर्दोष रहेको बताएका छन्। अदालतमा प्रवेश गर्दा मदुरोका खुट्टामा लगाइएका सिक्रीको आवाजसमेत सुनिएको थियो।
न्यायाधीश एल्भिन हेलरस्टाइनले पहिचान खुलाउन आग्रह गरेपछि मदुरोले आफू जनवरी ३ देखि अपहरणमा परेको र कराकासस्थित निवासबाट पक्राउ गरिएको दाबी गरे। तर न्यायाधीशले उक्त विषयमा पछि बहस हुने जनाउँदै अहिले त्यसमा प्रवेश नगर्ने बताए।
६३ वर्षीय मदुरो र उनकी पत्नीलाई शनिबार अमेरिकी सेनाले भेनेजुएलाबाट नियन्त्रणमा लिई न्युयोर्क ल्याएको जनाइएको छ। सुनुवाइका क्रममा उनीहरू जेल पोशाकमा देखिएका थिए र अदालतको कारबाही बुझ्न स्पेनी भाषाको अनुवाद सुन्न हेडफोन प्रयोग गरेका थिए। मदुरो सुनुवाइभरि शान्त देखिए पनि अन्त्यतिर अदालत कक्षमा दर्शकदीर्घाबाट चिच्याहट भएपछि उनले आफू राष्ट्रपति र युद्धबन्दी भएको प्रतिक्रिया दिएका थिए।
अमेरिकाले मदुरोमाथि नार्को–आतङ्कवाद, कोकिन तस्करीको षड्यन्त्र, अवैध हतियार तथा विस्फोटक राखेको आरोप लगाएको छ। सो मुद्दामा उनकी पत्नी, छोरा तथा अन्य केही व्यक्तिहरू पनि जोडिएका छन्। धरौटीको माग नभएकाले उनीहरू दुवै संघीय हिरासतमा रहने अदालतले जनाएको छ।
यस मुद्दाको अर्को सुनुवाइ आगामी मार्च १७ मा हुने तय गरिएको छ।
एजेन्सीहरूको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation