इजरायल र अमेरिका ले इरान माथि सैन्य आक्रमण सुरु गरेको घोषणा गरेका छन । शनिबार बिहान इसराइलका रक्षामन्त्री Israel Katz ले इरानमाथि हमला गरिएको जानकारी दिएका हुन्। अमेरिकी समाचार संस्था CNN का अनुसार उक्त कारबाहीपछि इसराइल सरकारले देशभर आपतकाल घोषणा गरेको छ।
हमलापछि सम्भावित प्रतिकारलाई दृष्टिगत गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। BBC का अनुसार देशका विभिन्न स्थानमा हवाई आक्रमणको चेतावनीस्वरूप साइरन बजाइएको छ र नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
यता इरानको राजधानी तेहरानको केन्द्रीय क्षेत्रमा शनिबार बिहान धेरै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रारम्भिक विवरणअनुसार दानेशगाह मार्ग र जोम्हुरी क्षेत्रमा मिसाइल खसेपछि ठूलो विस्फोट भएको बताइएको छ।
यस घटनापछि United States ले इसराइलसँग समन्वयमा रहेको संकेत दिएको छ। यद्यपि, अमेरिकाले प्रत्यक्ष सैन्य संलग्नताबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन।
इसराइल–इरानबीच बढ्दो तनावका बीच यो आक्रमणले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्ने अनुमान गरिएको छ। संभावित प्रतिकार तथा अन्तर्राष्ट्रिय प्रतिक्रियाले आगामी घटनाक्रमलाई अझ संवेदनशील बनाउने देखिएको छ।











