पोखरामा ‘रक्तिम साँझ २०८३’ भव्य रूपमा सम्पन्न

पोखरा, जेठ २६  ‘राष्ट्रियताको रक्षा, रक्तिमको सदिच्छा’ भन्ने मूल नारासहित पोखरा सभागृहमा आयोजित ‘रक्तिम साँझ–२०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा कास्कीको आयोजनामा सम्पन्न उक्त सांस्कृतिक कार्यक्रममा गीत, संगीत, नृत्य तथा गीतिनाटकमार्फत सामाजिक, राजनीतिक र राष्ट्रिय विषयहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रमको सुरुआत धौलागिरि–हेमजाको परम्परागत नौमती बाजाको धुनबाट गरिएको थियो। पोखरा सभागृह दर्शकले भरिभराउ भएको थियो भने कार्यक्रमभर दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।
रक्तिम सांस्कृतिक परिवारका कलाकारहरूले वैदेशिक रोजगारी, सामाजिक असमानता, महँगी, राष्ट्रियता र राजनीतिक विषयवस्तुलाई समेटेर विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए। विशेषगरी ‘आएन परदेशी, फेरि पनि लाग्यो बर्खा’, ‘क्रान्ति अझै बाँकी छ’ तथा ‘किनी नसक्नु बजारको मूल्य घटाइदे’ लगायतका गीतहरूले दर्शकको ध्यान आकर्षित गरेका थिए।
त्यस्तै, ‘किन चाहियो संघीयता, जनता लडाउन; गणतन्त्र काफी छ देश बनाउन’ बोलको गीतमार्फत राष्ट्रिय जनमोर्चाको संघीयताप्रतिको वैचारिक दृष्टिकोण प्रस्तुत गरिएको थियो।
कार्यक्रममा कलाकार सचित्र केसी, हेमराज आश्रमलगायतका कलाकारहरूले गायन, अभिनय तथा नृत्य प्रस्तुत गरेका थिए। कलाकारहरूको प्रस्तुति समाजका विभिन्न पक्ष र जनजीवनका विषयसँग जोडिएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य लिलाबहादुर थापामगर, पूर्व प्रदेशसभा सदस्य कृष्ण थापा, राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारी, रविमोहन ढकाल, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी तथा अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारीलगायत वक्ताहरूले सांस्कृतिक आन्दोलनको महत्वबारे धारणा व्यक्त गरेका थिए।
करिब दुई घण्टासम्म सञ्चालन भएको कार्यक्रममा सांस्कृतिक माध्यमबाट सामाजिक जागरण, राष्ट्रियता र परिवर्तनका विषयलाई उठान गरिएको थियो। कार्यक्रमको समापनसँगै रक्तिम सांस्कृतिक अभियानलाई देशका अन्य जिल्लाहरूमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिइएको छ।
रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष गिरिप्रसाद बुढाका अनुसार आगामी दिनमा गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान र बुटवललगायतका स्थानमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation