शंकर प्रसाद पोख्रेल
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन भएको छ अध्यक्ष पदमा भएको प्रतिस्पर्धात्मक निर्वाचनमा महेन्द्र प्रसाद उपाध्याय २९६ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी आशिष न्यौपानेले १४३ मत प्राप्त गरेका थिए।
उपसभापति पदमा दुर्गा प्रसाद खनाल २३८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी रचना क्षेत्रीले १८९ मत प्राप्त गरेकी थिइन्। सचिव पदमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित निर्वाचित भएका छन् भने सहसचिव पदमा बाबुराम अर्याल विजयी भएका छन।
अधिवेशनबाट विभिन्न क्षेत्रीय संयोजकहरू पनि चयन भएका छन्। क्षेत्र नं. २ को संयोजकतर्फ भएको निर्वाचनमा विष्णु प्रसाद पौडेल र छविलाल विश्वकर्मा विजयी भएका छन्। त्यसैगरी क्षेत्र नं. १ को संयोजकमा खडानन्द पौडेल, क्षेत्र नं. ४ को संयोजकमा विश्वनाथ शर्मा तथा क्षेत्र नं. ५ को संयोजकमा शेषकान्त गैरे निर्विरोध निर्वाचित भएका छन्।
सदस्य पदमा पनि उत्साहजनक प्रतिस्पर्धा देखिएको थियो। निर्वाचन परिणामअनुसार शर्मिला आचार्य ३२२ मत प्राप्त गर्दै सर्वाधिक मतसहित निर्वाचित भइन्। त्यसैगरी अनिता पन्थी २७७ मत, रामनाथ हरिजन १७२ मत, पवित्रा कुमारी निषाद १२० मत तथा जमुना सापकोटा १६० मत प्राप्त गर्दै सदस्यमा विजयी भएका छन।

अधिवेशनको उद्घाटन संघीय सांसद सागर ढकालले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिप्रतिको जनविश्वास बढ्दै गएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा प्रमाणित गर्न पार्टी नेतृत्व र कार्यकर्ताहरू जिम्मेवार बन्नुपर्ने बताए। उनले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास आजको आवश्यकता भएको धारणा राखे।
अधिवेशनमा जिल्लाभरबाट आएका प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले संगठन विस्तार, जनसरोकारका मुद्दाको प्रभावकारी उठान, युवाको सहभागिता वृद्धि तथा स्थानीय तहसम्म पार्टी संरचनालाई सुदृढ बनाउने विषयमा जोड दिएका थिए।
निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष महेन्द्र प्रसादले सम्पूर्ण प्रतिनिधि, मतदाता तथा पार्टी पंक्तिलाई धन्यवाद दिँदै रुपन्देहीमा पार्टीलाई अझ संगठित, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले व्यक्तिगतभन्दा सामूहिक नेतृत्वको भावनालाई आत्मसात् गर्दै सबैलाई साथमा लिएर अघि बढ्ने बताए।

रास्वपा रुपन्देहीको प्रथम जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठनलाई नयाँ ऊर्जा, उत्साह र स्पष्ट कार्यदिशा प्रदान गरेको पार्टीका नेताहरूले बताएका छन्। नवगठित नेतृत्वले जिल्लामा संगठन विस्तार, जनताका मुद्दाको सशक्त पैरवी तथा सुशासनमुखी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्दै अघि बढ्ने रास्वपा रुपन्देहीले जनाएको छ।












