कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन, दूतावासको तत्काल नेपाल फर्किन आग्रह

काठमाडौँ । कम्बोडियामा रहेका ६६ जना नेपाली नागरिक सम्पर्कविहीन भएको भन्दै नेपाली राजदूतावास बैंककले उनीहरूलाई तत्काल सम्पर्कमा आउन र १२ जुन २०२६ भित्र नेपाल फर्किन आग्रह गरेको छ।
दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेका ६०२ नेपाली नागरिक भिसा अवधि सकिएपछि पनि अवैधानिक रूपमा बसिरहेका थिए। उनीहरूलाई स्वदेश फर्काउन कम्बोडिया सरकारले भिसा शुल्क र जरिवाना मिनाहा गर्ने विशेष व्यवस्था गरेको भए पनि ६६ जनाले हालसम्म फर्किने प्रक्रिया अघि नबढाएको पाइएको छ।

दूतावासले इमेल, फोन र ह्वाट्सएपमार्फत सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्बन्धित व्यक्तिहरू सम्पर्कमा नआएको जनाएको छ। तोकिएको समयभित्र स्वदेश नफर्किए कम्बोडियाको नयाँ कानुनअनुसार अनुसन्धान, पाँच लाख अमेरिकी डलरसम्म जरिवाना तथा कसुरको प्रकृतिअनुसार आजीवन कारावाससम्मको सजाय हुन सक्ने चेतावनी दिइएको छ।
दूतावासले कानुनी आधारबिना कम्बोडियामा बसिरहेका नेपाली नागरिकलाई तत्काल सम्पर्कमा आउन र सुरक्षित रूपमा नेपाल फर्किन अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation