लक्ष्मी शर्मा
राज्य सञ्चालनका लागि शक्ति निशन्देह आवश्यक हुन्छ तर शक्ति मात्र पर्याप्त हुँदैन। इतिहासले देखाएको छ कि बल, दमन वा कानुनी अधिकारका आधारमा स्थापित शासन दीर्घकालसम्म टिक्न सक्दैन। जनताको विश्वास, नैतिक नेतृत्व र न्यायपूर्ण व्यवहारविनाको सत्ता कमजोर हुन्छ। यही कारण बौद्ध राजनीतिक चिन्तनले शासनको वास्तविक आधार शक्ति होइन, धर्म अर्थात् सत्य, न्याय, करुणा, उत्तरदायित्व र जनकल्याणलाई मानेको छ। आज सुशासन, पारदर्शिता र उत्तरदायित्वको खोजी भइरहेको समयमा बौद्ध राजनीतिक दर्शन केवल धार्मिक शिक्षा नभई नैतिक शासनको व्यावहारिक मार्गदर्शनका रूपमा झन् सान्दर्भिक बनेको छ।
शासनको आधार : शक्ति कि नैतिकता?
राजनीतिक इतिहासमा धेरै शासकहरूले सैन्य बल, कानुनी अधिकार र दमनका आधारमा शासन सञ्चालन गरे। कतिपयले केही समय सफलता प्राप्त गरे पनि जनताको विश्वास गुमाएपछि त्यस्ता शासनहरू टिक्न सकेनन्। यसको विपरीत जनताको सम्मान र विश्वास जित्ने नेतृत्वले इतिहासमा स्थायी छाप छोडेको पाइन्छ।
बौद्ध राजनीतिक चिन्तनले राज्य सञ्चालनको केन्द्रमा नैतिकतालाई राख्छ। बुद्धका अनुसार राज्यको उद्देश्य जनतालाई भयमा राख्नु होइन, उनीहरूको जीवन सुरक्षित, सम्मानित र समृद्ध बनाउनु हो। शासक अधिकारको मालिक होइन, जनविश्वासको संरक्षक हो। शासनको सफलता कानुनी अधिकारभन्दा बढी न्यायपूर्ण र नैतिक आचरणमा निर्भर हुन्छ।
धम्म : शासनको नैतिक मेरुदण्ड
बौद्ध दर्शनमा “धम्म” शब्दको अर्थ केवल धार्मिक कर्मकाण्ड होइन। धम्म भनेको सत्य, न्याय, करुणा, समानता, आत्मसंयम, उत्तरदायित्व र जनकल्याणमा आधारित आचरण हो। यही धम्म शासनमा लागू हुँदा राज्यले नैतिक वैधता प्राप्त गर्छ।
यदि शासन निष्पक्ष, पारदर्शी र जनउत्तरदायी भयो भने नागरिकले राज्यप्रति विश्वास गर्छन्। तर शासन स्वार्थ, पक्षपात र अन्यायमा आधारित भयो भने जनविश्वास कमजोर बन्छ। त्यसैले बौद्ध राजनीतिक चिन्तनमा कानुनलाई नैतिकताको विकल्प होइन, त्यसको सहायक साधनका रूपमा हेरिएको छ।
बौद्ध सुत्तहरूमा नैतिक शासनको अवधारणा
बौद्ध राजनीतिक चिन्तनका तीन महत्त्वपूर्ण आधार अग्गञ्ञ सुत्त, चक्कवत्ती ,सीहनाद सुत्त र दशराजधर्म ले नैतिक शासनको स्पष्ट चित्र प्रस्तुत गर्छन्।अग्गञ्ञ सुत्त मा वर्णित महाजनसम्मत को अवधारणाले शासनको स्रोत जनताको सहमति र विश्वास हो भन्ने सन्देश दिन्छ। शासक जनताको सेवक हो, मालिक होइन।चक्कवत्ती सीहनाद सुत्त ले राज्यको प्रमुख दायित्व जनकल्याण भएको बताउँछ। गरिबी, बेरोजगारी र सामाजिक अन्यायलाई अपराधको मूल कारण मानी नागरिकको आधारभूत आवश्यकताको सुनिश्चिततामा जोड दिइएको छ।त्यसैगरी दशराजधर्म ले दान, शील, त्याग, इमानदारी, नम्रता, आत्मसंयम, अहिंसा, धैर्य र जनभावनाप्रतिको सम्मानलाई आदर्श नेतृत्वका आधार मानेको छ। यी तीनै शिक्षाको मूल सन्देश एउटै छ,शासनको स्थायित्व शक्ति र दमनमा होइन, जनविश्वास, जनकल्याण र नैतिक नेतृत्वमा निर्भर हुन्छ।
नैतिक शासनका प्राचीन र आधुनिक उदाहरण
प्राचीन उदाहरणका रूपमा सम्राट अशोक उल्लेखनीय छन्। कलिङ्ग युद्धपछि उनले हिंसा र विस्तारवाद त्यागी बौद्ध धम्मलाई शासनको आधार बनाए। धार्मिक सहिष्णुता, जनकल्याण र न्यायपूर्ण प्रशासनमार्फत उनले नैतिक शासनको आदर्श प्रस्तुत गरे। भने आधुनिक उदाहरणका रूपमा ली क्वान यू उल्लेखनीय छन्। उनले सिंगापुरलाई अनुशासित प्रशासन, भ्रष्टाचारविरुद्ध कठोर नीति, योग्यता आधारित सार्वजनिक सेवा र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणमार्फत विश्वकै विकसित राष्ट्रहरूमध्ये एक बनाए। उनको सफलताको आधार इमानदारी, उत्तरदायित्व र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता थियो। यी दुवै उदाहरणले नैतिक नेतृत्व व्यवहारमा पनि सफल हुन सक्ने प्रमाण प्रस्तुत गर्छन्।
नेपालको संविधान र वर्तमान सन्दर्भ
नेपालको संविधान, २०७२ ले लोकतन्त्र, विधिको शासन, मानव अधिकार, सामाजिक न्याय, समानता, सुशासन र उत्तरदायी शासनलाई राज्य सञ्चालनका आधारभूत मूल्यका रूपमा स्वीकार गरेको छ। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र भ्रष्टाचार निवारण ऐन, २०५९ ले पनि पारदर्शी, उत्तरदायी र नागरिकमुखी शासनलाई जोड दिएका छन्।
यद्यपि नेपालमा सुशासन, पारदर्शिता र जनविश्वासका क्षेत्रमा अझै चुनौतीहरू विद्यमान छन्। सार्वजनिक पदलाई सेवाभन्दा विशेषाधिकारका रूपमा लिने प्रवृत्ति, भ्रष्टाचार र संस्थाप्रतिको घट्दो विश्वासले लोकतन्त्रको गुणस्तरमा प्रश्न उठाइरहेको छ। यस्तो अवस्थामा बौद्ध राजनीतिक चिन्तनले नैतिक नेतृत्व, जनउत्तरदायित्व र जनकल्याणको महत्त्वलाई पुन: स्मरण गराउँछ।
निष्कर्ष
बौद्ध राजनीतिक चिन्तनले शासनको आधार शक्ति होइन, धम्म अर्थात् सत्य, न्याय, करुणा र जनकल्याण हो भन्ने स्पष्ट सन्देश दिन्छ। अग्गञ्ञ सुत्त, चक्कवत्ती सीहनाद सुत्त र दशराजधर्मले जनसहमति, जनकल्याण र नैतिक नेतृत्वलाई असल शासनका आधारका रूपमा स्थापित गरेका छन्। आजको नेपालमा सुशासन र जनविश्वास सुदृढ बनाउन नैतिक नेतृत्व अपरिहार्य छ। कानुन र संस्थाहरूले मात्र राम्रो शासन दिन सक्दैनन तिनलाई सञ्चालन गर्ने व्यक्तिमा नैतिकता, इमानदारी र जनसेवाको भावना पनि आवश्यक हुन्छ। जब शासन शक्ति र नैतिकताको सन्तुलनमा आधारित हुन्छ तब मात्र लोकतन्त्र बलियो, न्यायपूर्ण र जनविश्वासयुक्त बन्न सक्छ।
(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा बि.ए.एलएल्.बि. दोस्रो सेमेष्टरमा अध्ययनरत छात्रा हुन् ।)











