खिमराज चालिसे,राजपुरा, भारत/शंकर प्रसाद पोख्रेल बुटवल
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज राजपुरा एरिया समितिको प्रथम एरिया सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले भारतमा रहेका प्रवासी नेपालीहरूको हक, हित, सुरक्षा, एकता तथा संगठन सुदृढीकरणलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै नयाँ नेतृत्व चयन गरेको छ। सम्मेलनमा संगठनका केन्द्रीय, क्षेत्रीय तथा विभिन्न नगर समितिका पदाधिकारी, प्रतिनिधि तथा स्थानीय नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मेलनको उद्घाटन प्रमुख अतिथिका रूपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराईले गर्नुभएको थियो। उद्घाटन मन्तव्य राख्दै उहाँले भारतमा श्रम, रोजगारी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न नेपालीहरूले अनेक प्रकारका समस्या झेल्दै आएको उल्लेख गर्दै ती समस्याको समाधानका लागि मूल प्रवाहले स्थापना कालदेखि नै अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।

महासचिव भट्टराईले भन्नुभयो, “भारतका विभिन्न सहर, उद्योग तथा श्रम क्षेत्रमा कार्यरत नेपालीहरूले श्रम शोषण, कानुनी जटिलता, सामाजिक असुरक्षा तथा विभिन्न प्रकारका अन्याय भोगिरहेका छन्। यस्ता समस्याको समाधान गर्न, नेपाली श्रमिकहरूको आवाज बुलन्द बनाउन र संकटको घडीमा साथ दिन मूल प्रवाहले निरन्तर नेतृत्वदायी भूमिका खेलेको छ। त्यसैले भारतमा प्रवासी नेपालीहरूको हकहित र अधिकार रक्षाका लागि मूल प्रवाहको कुनै विकल्प छैन।”

उहाँले संगठनलाई अझ सुदृढ, अनुशासित र जनमुखी बनाउँदै प्रवासी नेपाली समुदायको साझा आवाजका रूपमा स्थापित गर्न सबै सदस्यलाई सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभयो। उहाँले नयाँ नेतृत्वलाई संगठन विस्तार, सदस्यता वृद्धि, महिला तथा युवा सहभागिता अभिवृद्धि र समुदायका समस्याको समाधानमा केन्द्रित भएर काम गर्न निर्देशनसमेत दिनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमारेले सम्बोधन गर्दै भारतमा रहेका नेपालीहरूको एकता नै सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो। उहाँले संगठनले विगतदेखि गर्दै आएको सामाजिक, सांस्कृतिक तथा अधिकारमुखी अभियानलाई अझ प्रभावकारी बनाउन सबै तहका कार्यकर्ताले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
सम्मेलनमा मूल प्रवाहका केन्द्रीय सदस्य प्रेम आचार्यले नवनिर्वाचित कार्यसमितिको औपचारिक घोषणा गर्नुभएको थियो। घोषणा गर्दै उहाँले नयाँ नेतृत्वलाई बधाई दिँदै संगठनले दिएको जिम्मेवारीलाई इमानदारी, अनुशासन र समर्पणका साथ पूरा गर्न आग्रह गर्नुभयो।
प्रेम आचार्यले भन्नुभयो, “राजपुरा एरिया समितिको गठन केवल नेतृत्व चयन मात्र होइन, प्रवासी नेपाली समुदायलाई अझ संगठित, सचेत र अधिकारप्रति जिम्मेवार बनाउने अभियानको नयाँ सुरुआत हो। नयाँ कार्यसमितिले सबै नेपालीलाई समेटेर संगठनलाई गाउँ–टोलदेखि कार्यस्थलसम्म विस्तार गर्ने विश्वास लिएको छु। संगठनको उद्देश्य कुनै व्यक्ति विशेष होइन, सम्पूर्ण प्रवासी नेपालीको साझा हित र अधिकारको संरक्षण हो।”
उहाँले संगठनप्रति विश्वास गर्ने सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै नयाँ नेतृत्वले संगठनको गरिमा कायम राख्दै समुदायको सेवामा समर्पित भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

सम्मेलनले राजु बनको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति तथा ७ सदस्यीय सल्लाहकार समिति गरी कुल २८ सदस्यीय एरिया समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिल बहादुर सुनार, सचिवमा रमेश साही, सह–सचिवमा सीता शर्मा तथा कोषाध्यक्षमा मनु तामाङ चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा भुपाल सिंह, मालती पुन, चुरामणी बन, आशा पुन, नविता शर्मा, रंजिता कोईराला, हेमा घर्ति, कमला शर्मा, तिर्थ कुमारी बिष्ट, पुस्कर बस्नेत, तुल्सिदेवी, सानु तामाङ, कुशुमदेवी, शुन्दर चन्द, लाल बहादुर बि.क. तथा बशन्त सुनार चयन हुनुभएको छ।
यसैगरी सल्लाहकार समितिमा कबिता थापा, सपना थापा, राधिका बन, निर्मला खड्का, रामराज बन, कल्पना शाही तथा सुकमाया शर्मा चयन हुनुभएको छ।


सम्मेलनमा शुभकामना मन्तव्य राख्ने वक्ताहरूमा मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौडेल, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं पटियाला नगर अध्यक्ष विष्णु प्रसाद भुसाल, सुदूर पश्चिमोत्तर महिला संयोजक माया आचार्य, क्षेत्रीय सदस्यहरू प्रेम रसाईली, बिमला बन्जाडे, रामजी भुसाल र नारायण भुसाल, पश्चिमोत्तर क्षेत्रीय सांस्कृतिक विभागका राजु खनाल तथा महिला क्षेत्रीय सदस्य सबिता खनाल लगायतले संगठनको आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।
नकुल मल्ल नगर समिति पटियाला उपाध्यक्ष एवं सिताराम आर.सी.नगर समिति सदस्यको सक्रियता रहेको थियो।
वक्ताहरूले मूल प्रवाहले प्रवासी नेपालीहरूको समस्या समाधान, अधिकार संरक्षण, सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण तथा आपत्कालीन सहयोगका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संगठनलाई अझ सशक्त बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका अवसरमा मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले कार्यक्रममा सहभागी सम्पूर्ण सांस्कृतिक कलाकारहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो। कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमले सम्मेलनलाई थप आकर्षक र उल्लासमय बनाएको थियो।
सम्मेलनमा सहभागी नेताहरूले राजपुरा क्षेत्रमा नेपाली समुदायको संगठनात्मक एकता, आपसी सहयोग र अधिकारमुखी अभियानलाई नयाँ गति दिने विश्वास व्यक्त गरेका छन्। उनीहरूले पहिलो एरिया सम्मेलनले संगठन विस्तार, समुदायबीच समन्वय र सामाजिक उत्तरदायित्वका क्षेत्रमा महत्वपूर्ण आधार तयार गरेको बताएका छन्।
कार्यक्रमका अध्यक्ष दिल बहादुर सुनारले सम्मेलन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, प्रतिनिधि, स्वयंसेवक, कलाकार तथा नेपाली समुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नयाँ कार्यसमितिले सबैलाई समेटेर संगठनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन गोपाल सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य रमेश साहीले राख्नुभएको थियो।
भव्य सहभागिता, उत्साहपूर्ण वातावरण र संगठन सुदृढीकरणको स्पष्ट प्रतिबद्धतासहित सम्पन्न भएको यस प्रथम एरिया सम्मेलनले राजपुरा क्षेत्रमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र अधिकारमुखी अभियानलाई थप सशक्त बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। सम्मेलनले आगामी दिनमा प्रवासी नेपालीहरूको हकहित, सामाजिक सुरक्षा, कानुनी सहयोग तथा संगठन विस्तारका अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने सामूहिक प्रतिबद्धतासमेत जनाएको छ।











