राजमो रुपन्देहीद्वारा जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण

समसामयिक समस्या समाधानको माग गर्दै राजमो रुपन्देहीद्वारा जिल्ला प्रशासनमार्फत सरकारलाई ध्यानाकर्षण पत्र
बुटवल। राष्ट्रिय जनमोर्चा (राजमो) रुपन्देहीले देशमा बढ्दो महँगी, जनजीविकाको संकट, भ्रष्टाचार, सीमा विवाद, तस्करी, लागूऔषधको अवैध व्यापार, दुर्व्यसन, मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन, कर वृद्धि, करको दर हेरफेरलगायतका समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत ध्यानाकर्षण पत्र बुझाएको छ।
राष्ट्रिय जनमोर्चाकी कार्यवाहक अध्यक्ष इन्दिरा उपाध्यायको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलम, नेपाल कम्युनिष्ट पार्टी (मसाल) रुपन्देहीका जिल्ला प्रवक्ता लालचन्द पन्थ, राष्ट्रिय जनमोर्चा रुपन्देहीका जिल्ला सचिव कृष्णप्रसाद पोखरेल, शिवराम घिमिरे, विष्णु श्रीनेत तथा आरिफ आलमलगायतको सहभागिता रहेको थियो।
ध्यानाकर्षण कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले गर्नुभएको थियो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) रुपन्देहीका जिल्ला प्रवक्ता लालचन्द पन्थले ध्यानाकर्षण पत्रको पूर्णपाठ वाचन गर्नुभएको थियो। विभिन्न राष्ट्रिय तथा जनसरोकारका विषय समेटेर तयार पारिएको उक्त ध्यानाकर्षण पत्र राष्ट्रिय जनमोर्चाकी कार्यवाहक अध्यक्ष इन्दिरा उपाध्यायले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाउनुभएको हो।
ध्यानाकर्षण पत्रमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको, भ्रष्टाचार नियन्त्रणमा सरकार प्रभावकारी हुन नसकेको, सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल हुनुपर्ने, तस्करी तथा लागूऔषधको अवैध कारोबार नियन्त्रणका लागि कडा कदम चालिनुपर्ने, बढ्दो दुर्व्यसन न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने, मापदण्डविपरीत भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्नुपर्ने तथा कर वृद्धि र करको दर हेरफेरका कारण जनतामाथि थप आर्थिक भार परेको उल्लेख गर्दै सरकारको तत्काल ध्यानाकर्षण गराइएको छ।
ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीले उक्त ध्यानाकर्षण पत्र सम्माननीय प्रधानमन्त्रीसमक्ष पठाइने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रतिनिधिमण्डलले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation