इजरायलको अरादमा इरानी मिसाइल आक्रमण : ८८ घाइते, संकटकाल घोषणा

काठमाडौं । अराद सहरमा भएको इरानी मिसाइल आक्रमणले भयावह अवस्था सिर्जना गरेको छ। स्थानीय दमकल विभागका अनुसार मिसाइल सहरको बीचभागमा खसेपछि सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। घटनास्थलमा उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको जनाइएको छ।
आक्रमणपछि इजरायल सरकारले अरादमा संकटकाल घोषणा गरेको छ। सञ्चारमाध्यमका अनुसार कम्तीमा ८८ जना घाइते भएका छन्। इजरायली आपत्कालीन सेवाका अनुसार घाइतेहरूको उपचार भइरहेको छ भने एक पाँच वर्षीया बालिकाको अवस्था गम्भीर रहेको छ। बाक्लो बस्तीमा मिसाइल खसेकाले धेरै भवनहरू ध्वस्त भएका छन्। स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
इरानको दाबी : ‘इजरायलको आकाश सुरक्षित छैन’
इरानी संसद्का सभामुख मोहम्मद–बाकर गालिबाफ ले सामाजिक सञ्जालमार्फत डिमोनामा हालै भएका मिसाइल आक्रमणहरूले इजरायलको हवाई सुरक्षा प्रणाली कमजोर बन्दै गएको दाबी गरेका छन्। उनले अब इजरायलको आकाश सुरक्षित नरहेको र युद्ध नयाँ चरणमा प्रवेश गरेको बताएका छन्।
इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएयता ४ हजार २९२ भन्दा बढी घाइते अस्पताल पुगेका छन्।
हिजबुल्लाहको दाबी
हिजबुल्लाह ले आफ्ना लडाकुहरूले सीमा क्षेत्रमा इजरायली सैनिक र सैन्य सवारीसाधनमाथि आक्रमण गरेको दाबी गरेको छ। संगठनका अनुसार मार्काबा क्षेत्रमा गस्ती गरिरहेका सैनिकहरूमाथि रकेट प्रहार गरिएको छ भने अल अदाइसेह सीमा क्षेत्रमा पनि आक्रमण गरिएको जनाएको छ।
ट्रम्पको ४८ घण्टे अल्टिमेटम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई ४८ घण्टे चेतावनी दिएका छन्। उनले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत यदि इरानले हर्मोज जलमार्ग बिनासर्त नखोले अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका हुन्। ट्रम्पले यसो नभए इरानका पावर प्लान्टहरूलाई निसाना बनाइने र कारबाही सबैभन्दा ठूलो प्लान्टबाट सुरु हुने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation